इनरुवाः संघीय सरकारको निर्देशनमा सुनसरी प्रहरीले जिल्लाका विभिन्न मस्जिदमा आश्रय लिएर बसेका स्वदेशी तथा विदेशी नागरिकहरुलाई मस्जिदबाट हटाएको छ । जिल्लाका सबै मस्जिद खाली गराएको छ । उनिहरुलाई बिभिन्न स्थानीय सरकारले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ ।
उनिहरुलाई क्वारेन्टाइनमा राख्नुअघि कोरोना संक्रमण भए नभएको जाँच्न र्यापिड टेष्ट समेत गरिएको छ । टेष्टमा सबैको रिर्पोट नेगेटिभ आएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले मस्जिदलाई क्वारेन्टाईन बनाएर राखिएका सवै जनालाई हटाएर सरकारले बनाएका क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।
सुरक्षा समितिको बैठकको निर्णय अनुसार मस्जिदमा रहेका सवै विदेशी नागरिकलाई स्वाव परिक्षणका लागि धरान र इटहरी ल्याइएको थियो । उनीहरुलाई सुनसरी र मोरङ्गका विभिन्न क्वारेन्टाईनमा राखिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलले सुनसरीका मस्जिदमा बसाई सराई गर्दै बस्ने क्रम बढेपछि मस्जिद भित्र कसैलाई पनि राख्न नपाउने गरि बिहिबारदेखि खाली गराईएको बताए ।
प्रहरी उपरिक्षक पोखरेलले कोरोना सक्रमणको जोखिम सामुहिक बसाई रहेको स्थानमा बढी हुने भएकाले मस्जिद खाली गरिएको भन्ने अर्थलाई गलत ढङगले लिन भने नहुने बताए ।
सुनसरीको हरिनगर, दुहवी, इटहरी, बर्जु र भोक्राहाका विभिन्न मस्जिदहरुमा भारतीय र पाकिस्तानी नागरिक सहित बंगालीहरु बस्दै आएको फेला परेका थिए ।
मस्जिदमा बाहिरका मानिसहरु राख्दा स्थानिय व्यत्तीहरुको आवतजावत हुदा सक्रमण सर्ने फैलिने सम्भावना देखिएकाले कुनैपनि मस्जिदमा कोही कसैलाई राख्न पाइने छैन् । लुकीछिपी बस्दै आएको भेटिए कानुन बमोजिम कार्वाही गरिने समेत प्रशासनले जनाएको छ ।
सुनसरी प्रशासनमा दर्ता भएका ८१ वटा मस्जिदमा प्रशासनले लुकीछिपी कोही व्यक्ति बस्दै आएको भए जानकारी गराउन समेत मुस्लिम अगुवाहरु समक्ष आग्रह गरेको छ । प्रशासनले मुस्लिम समुदायलाई मस्जिदमा भिडभाड नगरी सकेसम्म घरमै बसेर प्रार्थना गर्न अनुरोध गरेको छ ।