इटहरीः लकडाउनका कारण सबै होटलहरु बन्द भएकाले खाना नपाएर समस्या झेलीरहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान परिसरमा रहेका बिरामीका कुरुवा(आफन्त)हरुलाई इटहरीको पञ्चकोशी मेडिकल हलले एक छाक खाना खुवाएको छ ।
पञ्चकोशी मेडिकल हलका संचालक नविन गौतमले आफ्नो विवाहको १२ औं बर्षगाँठको पूर्वसन्ध्यामा बिहिबार बेलुका प्रतिष्ठान परिसरका बिरामीका ३ सय ८० कुरुवालाई भरपेट एक छाँक खाना खुवाएका हुन् ।
खाना बनाई प्याकिङ गरेर गौतमले उनिहरुलाई लाइन लगाई सामाजिक दुरीलाई समेत ध्यान दिई एक छाक खाना खुवाएका हुन् । वीपी प्रतिष्ठानमा रहेका बिरामीका कुरुवाहरुले खाना नपाएर समस्या भईरहेको प्रतिष्ठान बाहिर औषधी व्यवसाय गर्ने व्यवसायी साथीहरुबाट जानकारी प्राप्त भएपछि आफुले एक छाक खानाा खुवाउने इच्छा व्यक्त गरेमा वडाअध्यक्ष र व्यवसायी साथीहरुको साथमा सम्भव भएको गौतमले बताए ।
कोरोनाको फैलदो संक्रमणसंगै लकडाउनका बेलामा धेरै नागरिकहरुले एक छाकसम्म राम्रोसंग खान खान नपाईरहेको अवस्थामा धरान उपमहानगर वडा नम्बर १८ का अध्यक्ष प्रविण राईको समन्वयमा ३ सय ८० जनालाई खान खुवाएको गौतमले बताए । उनका अनुसार प्रतिष्ठानमा बिरामी कुरुवाहरुलाई सबैभन्दा पहिला खान खुवाउने कार्यको शुरुवात वडा अध्यक्ष राईबाटै भएको हो ।
राईले शुरुवात गरेसंगै प्रतिष्ठान बाहिर संचालित औषधी पसलका संचालकहरु, अन्य सामाजिक संघ संस्थाहरुले प्रत्येक दिन आलोपालो गरि कुरुवाहरुलाई दुई छाँक खाना खुवाईरहेका छन् । राहत दियो भने सम्बन्धित व्यक्तिसम्म पुग्छ पुग्दैन । बरु खाना बनाएरै लग्यो भने वास्तविक व्यक्तिहरुले पाउने भएकाले आफूले खाना प्याकिङ गरेरै उनिहरुकै हात हातमा दिएको गौतमले बताए । उनको सो कार्यमा मेडिकल हलका अन्य कर्मचारीहरु र वीपी अगाडीका औषधी व्यवसायीहरुले समेत साथ दिएका थिए । पञ्चकोशी मेडिकल हलले आवश्यक परे आगामी दिनहरुमा यस्ता थप सामाजिक कार्यहरु गर्दै जाने गौतमले बताए ।

93226533_2941749659246464_5195036413669670912_n