इटहरीः उदयपुरको भुल्के भन्ने स्थानमा रहेको एक मस्जिदमा बसेका १२ जनामा कोरोना भाइरस(कोभिड १९ ) भएको पुष्टिसंगै प्रदेश १ मा पनि थप कोरोना संक्रमण फैलन सक्ने खतराको घण्टी बजेको छ ।
प्रदेश १ का प्राय सबै जिल्लाहरुमा कोरोना संक्रमण भए नभएको र्यापिड टेष्ट मार्फत परीक्षण गरिदै आएको थियो । झापाको हल्दिबारी र मोरङ बुढीगंगा गाँउपालिकामा र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ आएपछि प्रदेशवासी मात्र नभई थप परिक्षणमा पोजेटिभ नै आउछ कि भनेर प्रदेश सरकार समेत शंसकित भएको थियो । तर, दुवै जनाको स्वाब कोशी अञ्चल अस्पतालमा परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको थियो । रिर्पोट नेगेटिभ आएपछि प्रदेश एक खतरामुक्त नै रहेको आम प्रदेशवासीले सोचिरहेका बेला उदयपुरमा एकै चोटी १२ जनामा कोभिड १९ संक्रमण देखिपछि प्रदेश नम्बर १ मा खतराको घण्टी बजेको हो ।
उदयपुरको भुल्केमा रहेको मस्जिदमा लुकेर बसेका १६ जना मध्ये १२ जनामा कोभिड १९ संक्रमण भएको पुष्टि भएको हो । १६ जनाको स्वाब परिक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगर ल्याइएको थियो । कोशीमा नै १२ जनामा कोभिड १९ को संक्रमण देखिएको थियो । तर, थप पुष्टिका लागि बिहिबार रातीनै सामाजिक विकास मन्त्रालयको गाडीमा उनिहरुको सवाब थप परिक्षणका लागि टेकु काठमाण्डौं पठाइएको थियो । टेकुको प्रयोगशालामा परिक्षण गर्दा पनि रिर्पोट पोजेटिभ आएपछि स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारीक फेसबुक पेंजमा सूचना हाल्दै सार्वजनिक गरेको हो ।
लकडाउनकै समयमा एक महिना अघि उदयपुरको भुल्केको मस्जिदमा ती भारतीय नागरिकहरु आएर बसेको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले बताए । उनका अनुसार ती भारतीयहरु जोगवनी नाका हुँदै विराटनगर, दुहबी, इनरुवा, इटहरी र राजविराज हुँदै उदयपुर आएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी पहाडीले बताए । उनिहरु कसरी लकडाउनका समयमा पनि यतिका स्थान हुदै उदयपुरको भुल्के आईपुगे भन्ने बिषयमा प्रहरीले छानविन थालेको छ । १२ जनामा कोरोना पुष्टि भएसंगै प्रहरीले भुल्के क्षेत्र सिल गरेको छ । सो क्षेत्रमा उच्च सुरक्षा सर्तकता अपनाइएको छ । प्रहरीले १२ जना संक्रमित भारतीय नागरिकलाई उपचारका लागि स्वास्थ्य सुरक्षाका सबै विधि अपनाएर कोशी अञ्चल अस्पताल ल्याउदै गरेको प्रदेश नम्बर १ का मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रब सुवेदीले बताए ।
प्रदेश १ मा पहिलो पटक एकै दिन १२ जना भारतीय नागरिकमा कोभिड १९ भएको पुष्टि गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उनिहरुको कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाउन प्रदेश नम्बर एकका सुरक्षा प्रमुखहरुलाई निर्देशन दिइसकेको बताए ।
उदयपुरमा भेटिएका १२ जना कोभिड १९ संक्रमितहरु पुरुष हुन् । उनिहरुको उमेर ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ रहेको छ ।