इटहरीः त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केको मस्जिदमा भारतीय नागरिक आएको सूचना प्रशानलाई चैत्र १२ गते नै पुगेको खुलासा भएको छ । १२ गते नै सूचना पुगेपनि मस्जिदमा आएका भारतीय नागरिकका बारेमा सावधानी नअपनाउदा दुर्घटना निम्तिएको हो ।
सप्तरीको राजविराजमा हुने धार्मिक कार्यक्रममा सहभागी हुनका लागि विराटनगर हुदै भारतीय नागरिकहरु धार्मिक कार्यक्रमकै लागि त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा रहेको मस्जिदमा पुगेको खुलेको छ । उनिहरु चैत्र ४ गतेनै सो मस्जिदमा पुगेको त्रियुगा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष अवधेसकुमार चौधरीले बताए ।
उनका अनुसार भुल्केमा रहेको मस्जिदमा भारतबाट केही व्यक्तिहरु आएको स्थानीयबाट सूचना पाउनसाथ आफुले नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको थियो । जिल्ला प्रशासनको निर्देशनमा सो मस्जिदमा रहेका सबैको डिटेल्स रिर्पोट बनाएर जिल्ला प्रशासन कार्यालय उदयपुरलाई चैत्र १२ गते नै बुझाएको वडा अध्यक्ष चौधरीले बताए । जिल्ला प्रशासन कार्यालय उदयपुरलाई बुझाएको रिर्पोटमा भारतकको कुन स्थानबाट आएको हो, कुन मार्ग हुदै नेपाल आएका हुन् ? कति जना आएका हुन् ।उनिहरुको सम्पर्क नम्बर सहित कहाँ कहाँ जानका लागि आएका हुने जस्ता कुरा उल्लेख भएको वडा अध्यक्ष चौधरीले बताए ।
१२ गतेपछि पनि लकडाउनकै समयमा सो मस्जिदमा नयाँ अनुहारमा थप मुस्लिम समुदायका मानिसहरु आएको स्थानीयले चाल पाएपछि वडा अध्यक्षलाई पुनः खबर गरेका थिए । खबर पाउनसाथ वडा अध्यक्षले प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीहरुलाई जानकारी गराएका थिए । वडा अध्यक्ष सहितको नगरपालिकाले मस्जिदमा समेत दवाव दिएर पछि थपिएकाहरुका बारेमा विवरण माग गरेको थियो । वडा अध्यक्ष चौधरीले भने –‘निकै ठूलो दवाव दिएपछि मात्र मस्जिदले जम्ममा १६ जनाको विवरण दियो । पछि ४ जना थपिएको विवरण प्रदान गर्यो ।’ उनिहरु लकडाउनकै समयमा सो मस्जिदमा आएको विवरण आफुलाई प्राप्त भएको उनले बताए । उनले भने –‘सो गाँउका मानिस र हामी जनप्रतिनिधिहरुले बिषेश निगरानी गर्दा गर्दै मस्जिदले बीचमा थपिएका बारेमा सूचना लुकाएका कारण आज यो घटना भयो । पछि थपिएकाहरुबाट कोभिड १९ अन्यमा पनि सरेको हामीलाई आशंका छ ।’ उनका अनुसार पछि आएकाहरु सबै भारतीय हुन् । १६ जनामा ४ जना चाँही विराटनगरका मुस्लिम समुदायकै सदस्यहरु हुन् ।
मस्जिदले पाहुनाका रुपमा आएका मुस्लिम धर्मगुरुहरु राजविराजमा भएको धार्मिक कार्यक्रममा सहभागी भएर आए यता कहि नगएको मस्जिदमा र मुस्लिम समुदायका घरहरुमा मात्र गएको जानकारी आफुलाई दिएको वडा अध्यक्ष चौधरीले बताए ।
आफुहरुकै दवावमा दुई दिनअघि सो गाँउमा र्यापिड टेष्ट सहितको स्वास्थ्यकर्मीको टोलि लगेर मस्जिदमा रहेका सबैको रगतको मार्फतबाट परीक्षण गरेको वडाअध्यक्ष चौधरीले बताए । र्यापिडबाट पोजेटिभ आएपछि थप परिक्षणका लागि उनिहरुको स्वाब लिएर कोशी अञ्चल अस्पताल विराटनगर पठाएको वडा अध्यक्ष चौधरीले बताए ।
उनका अनुसार भुल्केमा जम्मा २ सय ५० घरको गाँउ छ । जहाँ करिब २५ घर मुस्लिम समुदायका मानिसहरु बसोबास गर्दछन् । १३ घर चौधरी र बाँकी बसै ब्राम्हण, क्षेत्र लगायत जातिका मानिसहरुको बसोबास रहेको छ ।
१२ जनामा कोभिड १९ देखिएपछि प्रहरीको समेत निगरानीमा सो गाँउलाई नै सिल गरेर राखिएको वडा अध्यक्ष चौधरीले बताए । कोभिड १९ संक्रमण भेटिएका १२ जनालाई कुनै लक्ष्यण नै नदेखिएको उनको भनाई छ । अहिले सो क्षेत्रमा जनपथ र शसस्त्र प्रहरीले कडा सुरक्षा दिईरहेको छ । सो गाँउबाट कसैलाई पनि बाहिर निस्कन दिइएको छैन् । बाहिरबाट पनि कसैलाई प्रवेश गर्न दिइएको छैन् । कोभिड १९ देखिएकालाई लैजान ५ वटा एम्बुलेन्स भुल्के आईपुगेको र विराटनगर लैजाने तयारी भईरहेको उनले बताए ।
भोलि बिहानबाटै गाँउभरीकाको परीक्षण गरिने
वडा अध्यक्ष चौधरीका अनुसार भुल्के गाँउमा बसोबास गर्ने २ सय ५० घरका सबै सदस्यहरुको कोरोना संक्रमण भए नभएको टेष्ट गरिने छ । साथै ती १२ ना भारतीय नागरिकहरु एक महिनाअघिदेखि सो मस्जिदमा बसोबास गर्दा कहाँ कहाँ गए र को कोसंग सम्पर्क गरे भन्ने अनुसन्धान गरि सो स्थानमा पनि परीक्षणको कार्य गर्ने वडा अध्यक्ष चौधरीले बताए । सहि सूचना नदिने मस्जिदका संचालकहरुमाथि आवश्यक अनुसन्धान गर्नका लागि प्रशासनलाई अनुरोध गर्ने उनले बताए ।
त्रियुगासंग सिमा जोडिएका नगरपालिकामा पनि सिल
त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा १२ भारतीय नागरिकमा कोभिड १९ देखिएपछि त्रियुगाको पूर्वतर्फ पर्ने चौदण्डी, बेलका नगरपालिका र कोशी वारी सुनसरीका बराहक्षेत्रनगरपालिका तथा धरान उपमहानगरले आफ्नो नगर प्रवेश नाका आज साझबाटै पूर्ण रुपमा सिल गरेको छ । यी नगरपालिकाले उच्च सर्तकता समेत अपनाएका छन् । पश्चिमतर्फको उदयपुर नगरपालिका र दक्षिणतर्फको फत्तेपुर तर्फपनि पूर्ण रुपमा नाका बन्द गरि उच्च सर्तकता अपनाइएको सम्बन्धित नगरपालिकाहरुले जनाएका छन् ।
बराहक्षेत्र नगरपालिका र धरान उपमहानगरमा ३ दिनसम्म औषधी पसल समेत बन्द
त्रियुगा नगरपालिका वडा नम्बर ३ मा १२ भारतीय नागरिकमा कोभिड १९ संक्रमण भएको पुष्टि भएसंगै बराहक्षेत्र नगरपालिका र धरान उपमहानगरले भोलिबाट लकडाउनलाई थप कडा बनाउने भएको छ । नगरपालिकाको निर्णय अनुसार प्रहरीले बराक्षेत्र नगरपालिका र धरान उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक सूचना नै जारी गरेको छ । सूचना अनुसार भोलिबाट ३ दिन औषधी पसल, खाद्यन्न र तरकारीका पसल समेत बन्द गरिने छ । भोलिबाट औषधी पसलसमेत बन्द हुने सूचना प्रहरीले नगरका सबै क्षेत्रमा माईकिंग गरेर नगरवासीलाई जानकारी दिइरहेको छ ।