इटहरीः उदयपुरका त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केको मस्जिदबाट १२ कोरोना संक्रमितसंगै ल्याएका ४ जनालाई मोरङको टाँडीमा रहेको क्वारेन्टाइनमा लगेर राखिएको छ ।
उनिहरुलाई प्रदेश सरकारले निर्माण गरेको कोरोना उपचार बिषेश अस्पतालले भर्ना लिन नमानेपछि राती १२ बजेपछि ४ जनालाई सिधै टाँडी क्वारेन्टाइन लगिएको हो ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले १६ जनालाई नै भर्नाका लागि विराटनगरको कोरोना बिषेश अस्पतालमा ४ वटा एम्बुलेन्स मार्फत पठाएको थियो ।
कोरोना बिषेश अस्पतालले भर्ना लिन नमानेपछि टाँडी पठाएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले बताए ।
स्थानीय प्रशासनले सहज रुपमा संक्रमण नदेखिएकालाई क्वारेन्टाइनमा पठाएको भने होइन् । मध्य रातमा संकास्पद व्यक्तीलाई भर्ना गर्ने विषयमा आधा घण्टा विवाद भएको थियो ।
चिकित्सकले संक्रमण नदेखिएकालाई कुनै हालतमा भर्ना नगर्ने अडान लिएपछि टाँडी लगिएको बुझिएको छ ।
संक्रमण नदेखिएकालाइ भर्ना गर्न नमानेको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राले स्वीकार गरिन् । उनका अनुसार बिषेश अस्पताल कोरोना संक्रमण देखिएपनि विरामी भएका व्यक्तीलाई मात्र राखिने अस्पताल भएको बताइन् ।

डाक्टर मिश्राका अनुसार अस्पतालमा भर्ना भएकाहरुमा कुनै लक्षण देखिएको छैन । नेशनल ट्रेडिङमा प्रदेश सरकारले ५० शैय्याको अस्थायी कोरोना अस्पताल निर्माण गरेको छ । जसको व्यवस्थापन कोशी अस्पताल विराटनगरले गर्दै आएको छ । कोरोना अस्पतालमा राखिएका संक्रमित मध्ये १ नेपाली र ११ भारतीय नागरिक छन । संक्रमित पुरुषहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्ष उमेर समुहका छन् ।

93683498_1320450751487187_5062247470965194752_n

कोरोना संक्रमण पोजेटिभ देखिएका विरामीलाई विराटनगर पठाउने बताइएपनि स्थानीय प्रशासनले अस्पतालसँग समन्वय गरेको थिएन ।
समन्वय नगरी पठाएका कारण चिकित्सक असन्तुष्ट बनेका छन ।’कमसेकम फोन गरेर यहाँ आइपुग्यौं भन्नु पर्छ ।’ ति चिकित्सकले भने ‘ प्रशासनले समन्वय नगरी सामान्य मान्छेलाई कोरोना अस्पताल पठायो ।’
उदयपुरका प्रमुख जिल्ला अधिकारी पहाडी संक्रमितसँगै बसेका कारण जोखिम भएका कारण बाकीँ चारजनालई पनि पठाइएको जिकिर गर्छन् ।