इटहरीः विराटनगर १७ का एक ६५ बर्षीय बृद्धमा कोभिड १९ संक्रमण भएको पुष्टि भएको छ । यो संगै नेपालमा कोभिड १९ बाट संक्रमण हुनेको संख्या ३१ पुगेको छ । प्रदेश नम्बर १ मा भने कोभिड १९ बाट संक्रमण हुनेको संख्या १३ पुगेको छ ।
ती बृद्ध उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ मा रहेको भुल्के मस्जिदमा १२ संक्रमितहरुसंग बसोबास गरेका थिए । उनीमाथि शंका लागि पुनः परिक्षण गर्दा कोभिड १९ संक्रमण भएको पुष्टि भएको कोशी अञ्चल अस्पतालले जनाएको छ ।
स्वास्थ्य मन्त्रालउले पनि आफ्नो आधिकारिक फेसबुक पेंजमा सूचना पोष्ट गर्दै पुष्टि गरेको छ । मन्त्रालयले ती ६५ बर्षीय बृद्धको ठेगाना नखुलाएपनि उनि विराटनरबासी भएको बुझिएको छ ।
उनलाई शुक्रबार राती उदयपुरबाट ल्याएका १२ संक्रमितसंगै विराटनगर ल्याइएको थियो । भारतीय धर्मगुरुसँगै हिडेका विराटनगरका चार जनामध्ये २ जनामा कोभिड १९ संक्रमण देखिएको हो । संक्रमण देखिएका ६५ बर्षीय बृद्धलाई पनि कोशी अञ्चल अस्पतालमा भर्ना गरि उपचार सुरु गरिएको छ । १६ जना मध्ये विराटनगरकै २ जनालाई भने टाँडीको क्वारेन्टाइनमा राखिएको छ ।
कोरोना संक्रमण देखिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनिहरु कसैमा लक्षण नदेखिएको अस्पताल प्रमुख डा. संगिता मिश्रााले बताएकी छन् । उनीहरुलाई डाक्टरहरुको निगरानीमा आजैबाट औषधीहरु चलाइएको डा. मिश्राले जानकारी दिएकी छन् ।
उता भुल्के गाँउमा मस्जिदभित्रका र वरिपरीका ६९ जनाको स्वाब संकलन गरि कोशी अञ्चल अस्पताल ल्याइएको छ । आज बिहान प्रदेश १ सरकारले भुल्के गाँउमा स्वाब संकलनका लागि ५ जनाको स्वास्थ्य प्राविधिकहरुको टोली त्यसतर्फ पठाएको थियो ।