इटहरीः सप्तरीमा गत फेब्रुअरीको तेस्रो साता भएको बिशाल धार्मिकसभामा धरानका ४ जना युवाहरुपनि सहभागी भएको खुलेको छ । सो सभामा देश तथा विदेशका २ लाख बढी मानिसहरुको सहभागीता रहेको थियो ।
सप्तरीको बोदेबर्षाहिनमा भएको धार्मिक सभामा धरान १७ निवासी ४ युवा सहभागी भएको वडा अध्यक्ष सूर्य भट्टराईले जानकारी दिएका छन् ।
धरान–१७ लोकप्रिय मार्गका ४ युवाहरु सहभागी बनेर फर्किएको उनले बताए । सो सभामा सहभागी भएपनि ४ युवाहरुले सम्बन्धित निकायलाई भने जानकारी नदिएको बुझिएको छ । उनिहरु सो सभामा सहभागी भएर फर्किएको सूचना वडामा रहेको टोल बिकास संस्थामा जिम्मेवार अधिकारीहरुले पाएपछि वडा कार्यालयलाई जानकारी गराएका छन् । वडा अध्यक्ष भट्टराईका अनुसार वडामा ३७ वटा टोल विकास संस्था (टिएलओ) गठन भएका छन् ।
वडा अध्यक्ष भट्टराईले भने–‘उदयपुरको भुल्केमा १२ जनामा कोरोना संक्रमित भएको थाहा पाएपछि शुक्रबार रातिदेखि टिएलओ सक्रिय रूपमा लागेको थियो । हरेक टिएलओबाट ४ जना आफ्नो टोलमा सामुहिक भेला, विहे, पार्टी, भोजमा सहभागी नहुनका लागि सूचना जाहेर गर्दै आइरहेका थिए । सोही क्रममा ४ जना मुस्लिम युवा धार्मिकसभामा सहभागी भएर फर्किएको खुलेको हो ।’ उनले आत्ति हाल्नु पर्ने अवस्था नरहेको बताए । तर, वडा तथा नगरवासीले थप सचेत हुन पर्ने र लकडाउनलाई पूर्ण पालना गर्नु पर्ने अवस्था आएको उनले बताए ।
४ युवालाई वडाको सहयोगमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गरि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको बताइएको छ । वडाले उनिहरु धार्मिकसभामा सहभागी भएर फर्किएको तर अवस्था सामान्य नै रहेको जनाएको छ । उनिहरुको स्वास्थ्य परीक्षणपछि मात्र थप कुरा भन्न सकिने बताइएको छ ।