इटहरीः तेह्रथुमबाट आएको १० वटा स्वाब परिक्षण गर्दा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १० जनाको रिर्पोट नेगेटिभ आएको हो ।
प्रतिष्ठानका सह प्रवक्ता डा. अशोक ऐरका अनुसार तेह्रथुम सहित अन्य स्थानबाट आएका ३० वटा स्वाबको नमूना परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको हो ।
प्रतिष्ठानले हालसम्म कुल २४९ वटा पिसिआर नमुना परीक्षण गरिसकेको छ । ती सबैको नमूना परीक्षणको रिर्पोट नेगेटिभ आएको छ । कोरोना हेल्प डेस्कमा प्रतिष्ठानले हालसम्म ३२२ जनाको प्रारम्भिक जाँच गरेको छ । ती मध्ये ३७ जनालाई क्वारेन्टाइनमा पठाइएको छ २६५ जनालाई होम क्वारेन्टाइनमा पठाइएको डा. ऐरले बताए ।
वडा अध्यक्षको आपत्ति
तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा दुई दिनको अन्तरालमा ६ को जना र्यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) परीक्षणमा कोरोना पोजेटिभ देखिएको भन्ने सामाचार प्रकाशन र प्रशारण प्रति सो गाँउपालिकाका अध्यक्षले आपत्ति जनाएका छन् ।
परीक्षणको पुष्टि नभई अनावश्यक रुपमा आफ्नो नाम समेत जोडेर केही संचारमाध्यमहरुले समाचार प्रकाशन र प्रशारण गरेको भन्दै मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले आपत्ति जनाएका हुन् । उनले गलत समाचार सम्प्रेशण गर्दा गाँउपालिका मात्र नभई पहाडी जिल्लाबासीमा अनावश्यक रुपमा संत्रास फैलिएको बताए । उनले आइतवार एक प्रेस विज्ञप्ती प्रकाशित गरि प्रमाणीत कुराहरुलाई मात्र आधारमानि समाचार सम्प्रेषण गर्न आग्रह समेत गरेका छन् ।