इटहरीः नेपाली सेनाको छाउनी अस्पतालको चिकित्सकको टोलीले आइतबार उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा स्थानीय एकसय ५२ जनाको थ्रोट स्वाब संकलन गरेको छ ।
छाउनी अस्पतालले स्वाब संकलनका लागि चाहिने दुईसय ५० वटा किट लिएर आएको भएपनि समय अभावले १ सय ५२ जनाको स्वाब संकलन गरेको हो । बाँकीको भोलि संकलन गरिने त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए ।
मस्जिद वरिपरीका ५२ मुस्लिम परिवारका १ सय ५३ जनाको स्वाब संकलन गर्ने लक्ष्य लिएको सेनाको छाउनी अस्पतालको चिकित्सक टोलीले १ सय ३४ स्थानीय र १८ जना सेनाको स्वाब संकलन गरेको हो । भुल्के मस्जिद नजिक नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा रहेको छ । भुल्केको मस्जिदमा भेटिएकाहरु सो अड्डा नजिकैको पसलहरुमा पटक पटक समान खरिदका लागि आएको बुझिएको छ ।
स्वाब संकलनका लागि भुल्केस्थित नेपाली सेनाको १८ नम्बर बाहिनीको फुटबल मैदानमा क्याम्प बनाइएको थियो । त्यहाँ दुईसय २० जनाको नाम दर्ता गरिएको थियो । नाम दर्ता गरिएका सवैको स्वाब संकलन गर्न आवश्यक पर्ने स्वास्थ्य सामग्री अपुग भएको भन्दै १ सय ५२ जनाको मात्रै नमूना संकलन गरिएको भुल्केका बाहिनीपति उपरथी कृष्णप्रसाद सापकोटाले बताए ।
स्वाब संकलन गरिएका १८ जना बाहिनी अड्डाको परिसरभित्रै रहेको सर्पदंश उपचार केन्द्रमा कार्यरत सेनाका चिकित्सक र बाहिर निस्किरहने सेनाहरु भएको जनाइएको छ । उनीहरुको संक्रमित क्षेत्रका मानिसहरुसँग सम्पर्क भएको हुनसक्ने भन्दै स्वाबको नमूना संकलन गरिएको सापकोटाले बताए । भुल्केमा शनिबार कोशी अञ्चल अस्पतालका चिकित्सक सहितको प्राविधिक टोलीले ६९ जनाको स्वाब संकलन गरेको थियो । विराटनगर ल्याइएका ती स्वाबहरु कोसी अस्पतालको ल्याबमा परीक्षण भइरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.जयवेन्द्र यादवले जानकारी दिएका छन् ।
१३ जनामा कोरोना पूष्टि भएको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिद क्षेत्रका बासिन्दाको नेपाली सेनाको चिकित्सक टोलीले आइतबार स्वाब संकलन गरेको हो । नेपाली सेनाको छाउनी अस्पतालका मेजर डा.प्राची रायमाझीको नेतृत्वमा चार सदस्यीय चिकित्सक टोली हेलिकप्टरबाट बिहान आएको हो ।
शुक्रबार भुल्केस्थित मस्जिदमा रहेका ११ भारतीय र १ नेपाली मुस्मिल व्यक्तिमा कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको थियो । लगत्तै शनिबार सोही मस्जिदबाट विराटनगर ल्याई मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखेका मोरङका अर्का व्यक्तिको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । सवै १३ जनालाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा राखेर उपचार सुरु गरिएको कोसी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट संगीता मिश्राले जानकारी दिइन् । १३ जनाकै स्वास्थ्य अवस्था सामान्य नै रहेको उनले बताइन् ।