इटहरीः  बेलबारी नगरपालिकाले आइतवार नगरक्षेत्रका मस्जिदहरुमा अनुगमन गरेको छ । उपमेयर ढाका कुमारी पराजुलीको नेतृत्वको टोलीले कोरोना भाइरस कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन मस्जिदहरुको अनुगमन गरिएको हो । 

नगर उपप्रमुख पराजुलीको नेतृत्वमा पुगेको टोलीले अनुगमनका क्रममा बेलबारी ७ स्थित मुस्लिम मस्जिद बाहुनी पुगी मुस्लिम समुदायका अगुवा एवम् मस्जिद समिति अध्यक्ष फारोद हुसेन मस्जिदका पुजारी जाकिर हुसेनसंग भेटेर आवश्यक जानकारी लिइएको छ । नगर उपप्रमुख पराजुलीको नेतृत्व मा गएको अनुगमन टोलिमा वडा नं ७ का वडाध्यक्ष चेतराज बस्नेत, इलाका प्रहरी कार्यलय बेलबारीका प्रतिनिधि,नगरपालिकाका स्वास्थ्यकर्मीहरु, नगरस्तरीय बजार अनुगमन समितिका सदस्यहरु सहितको अनुगमन समितिले अनुगमन गरेको हो । अनुगमनमा स्थानीयहरुको समेतको उपस्थिति रहेको थियो ।
अनुगमनमा मस्जिद संचालन र मुस्लिम समुदायको अवस्थाका बारेमा बुझिएको छ । अनुगमनका क्रममा धार्मिक सहिस्णुता आपसी सद्भाव तथा एकतालाई अझ बलियो बनाउँदै कोरोना भाइरसको जोखिमविरुद्ध लड्न सबै एक जुट उपमेयर पराजुलीले आग्रह गरेकी छन् । अनुगमनका क्रममा मस्जिदहरुमा भारत लगायत अन्यत्रबाट कोही व्यक्ति वा पाहुनाहरु आएको भए तत्काल प्रहरी अथवा स्थानीय तहलाई जानकारी दिन अनुगमन समितिले अनुरोध गरेको छ । स्थानीय र मस्जिद संचालकहरुले बाहिरबाट हालसम्म मस्जिदहरुमा कुनै नयाँ आगन्तुक नआएको जानकारी दिएका छन् । अनुगमनमा सहभागी मुस्लिम समाज र मस्जिद संचालक समितिका पदाधिकारीहरुले कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सामूहिक रुपमा आफुहरुपनि सचेत रहेको बताएका थिए । समितिले लकडाउनको पूर्ण पालना गर्न आग्रह गरिएको छ । अनुगमन पछि मस्जिद भएका स्थानहरुमा विशेष निगरानी बढाइएको उपप्रमुख पराजुलीले बताइन् । वडाध्यक्ष चेतबहादुर बस्नेतले बेलबारीका मुस्लिम अगुवा एवम् पुजारीलाई कोरोना भाइरसको जोखिम हुन नदिन समेत सचेत भइ लाग्न आग्रह गरिएको बताए ।