इटहरीः उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केका थप ८ जनामा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । ११ भारतीय नागरिक र २ नेपाली नागरिकमा कोरोना पुष्टि भएपछि कोशी अञ्चल अस्पताल विराटनगरको स्वास्थ्यकर्मीको टोलीले भुल्केबाट ६९ जनाको स्वाब संकलन गरेको थियो । संकलित स्वाब मध्ये ८ जनाकोमा कोरोना पोजेटिभ रिर्पोट आएपछि फाइनलका लागि ती स्वाबहरु वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । वीपी प्रतिष्ठान स्रोतका अनुसार ८ जना स्वाब पुनः परिक्षणका लागि कोशी अञ्चल अस्पतालले पठाएको र वीपीको ल्याबमा पुनः परीक्षणको काम थालिएको बताएको छ । प्रहरी स्रोतले पनि ८ जनाको स्वाब पुनः परिक्षणका लागि वीपी पठाएको बताएको छ । साँझसम्ममा आशंका गरिएका ८ स्वाबको पुनः परीक्षण पछिको रिर्पोट सार्वजनिक हुने बताइएको छ ।