इटहरीः उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो । संक्रमित आठै जना धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा छन् ।

योसँगै नेपालमा संक्रमित हुनेको संख्या ४० पुगेको छ । प्रदेश १ मा भने संक्रमितको संख्या २२ जना पुगेको छ । नेपालभरी ४ जना निको भएर घर फर्किएका छन् । गत शुक्रबार भुल्केमा रहेको उक्त मस्जिदमा रहेका १६ मध्ये एकैपटक १२ जनामा कोरोना संक्रमण देखिएको थियो । पछि बाँकी चार जनामध्ये थप एकजना पनि संक्रमण देखियो ।
गत शनिबार १३ जना संक्रमितसँग सम्पर्कमा आएका ६९ जनाको स्वाब परीक्षण गर्न विराटनगर पठाइएकोमा ८ जनामा कोरोना देखिएको हो । यी आठै जना मुस्लिम बस्तीका हुन् । सो बस्तीबाट पछि २ सय ५२ जनाको स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको हो । आज देखिएको एकजना तीनै मध्येका हुन् । यसअघि कोरोना पुष्टि भएका १३ संक्रमित पनि मुस्लिम समुदायकै हुन् ।
उनीहरू विराटनगरको कोरोना अस्पतालमा उपचाररत छन् । संक्रमितको संख्या बढेसँगै भुल्के पूरै बस्ती अहिले पनि सिल गरिएको छ । बस्तीमा सुरक्षाकर्मी खटिएका छन् । ती संक्रमितहरूलाई पनि विराटनगरको कोरोना विशेष अस्पतालमा लैजाने तयारी भइरहेको प्रतिष्ठान स्रोतले बताएको छ । प्रतिष्ठानको आइशोलेसन वेड तयारी भईनसकेकाले उनिहरुलाई विराटनगर पठाउन लागिएको हो । थप ८ जनाको रिर्पोट स्वास्थ्य मन्त्रालय प्रतिष्ठानले पठाउने मन्त्रालयले आधारिक रुपमा सार्वाजनिक गर्ने छ ।