इटहरीः प्रदेश गृहमन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय उदयपुरले कोरोना संक्रमित भएको त्रियुगा नगरपालिका वडा नम्बर ३ र सो वडाको छिमेकी चौदण्डी नगरपालिकाको वडा नम्बर ५ पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ ।
कोशी अञ्चल अस्पतालले सो स्थानमा लिएको ६९ स्वाब मध्ये ७ जनामा र नेपाली सेनाले लिएको २६० जनाको स्वाब मध्ये ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश सरकारको निर्देशनमा उदयपुर प्रशासनले ती वडाहरुलाई सिल गरेको हो । यसअघि त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केको नुरी मस्जिदमा २ नेपाली सहित ११ भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै सोही स्थानका मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थप ११ जनामा कोरोना पुष्टि भएपछि उदयपुर जिल्लामा समेत लकडाउन कडा बनाउने र आवतजावत पूर्ण रुपमा नियन्त्रण गर्ने प्रदेश सरकारले निर्णय गरी सोही अनुसारको जिल्ला प्रशासन उदयपुरलाई निर्देशन दिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बताए ।
उनका अनुसार आवतजावतमा कडाई गरी परीक्षणलाई व्यापक बनाउने निर्णय पनि प्रदेश सरकारले गरेको छ । उनका अनुसार त्रियुगा ३ चौडदण्डी ५ सहित मस्जिदलगायत धार्मिक गतिबिधि हुने क्षेत्रहरुलाई सुरक्षा निगरानीमा राखिएको छ । ती क्षेत्रमा आवतजापत पूर्ण रुपमा रोकेर जिल्लामा सबैखाले गतिबिधिमा कडाई गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको मन्त्री कार्कीले बताए ।
प्रदेश सरकारले उदयपुरमा आम परीक्षणको प्रक्रिया अगाडि बढाउन आवश्यक उपकरण र सामाग्रीको व्यवस्थान गर्न पनि संघीय सरकारलाई अनुरोध गरेको छ । यसैगरी उदयपुरसँगै सिरहा र सप्तरीमा पनि जोखिम हुनसक्ने भन्दै सरकारले ती जिल्लामा पनि कडाई गर्न संघीय सरकारको ध्यानाकर्षण गराएको मन्त्री कार्कीले जानकारी दिएका छन् ।
कन्ट्याक्ट ट्रेसिङमा नुरी मस्जिदमा आएका अनय मस्जिदका ३५ जना धर्मगुरु बसेका अन्य ६ मस्जिद उदयपुरमा रहेको खुलेको छ । ती बस्तीमा पनि कडाई आवतजावत कडाई गरेर स्वाब नमूना परीक्षण गर्ने तयारी गरिएको प्रदेश सरकारले जनाएको छ ।
वीपीमा पुनः परीक्षण गरिएका मध्ये ८ जनामा एक युवक केही नेपालमा लकडाउन सुरु हुनु अघि वैदेशिक रोजगारबाट आएको हुनाले उनिबाट अन्यमा संक्रमण सरेको हुन सक्ने त्रियुगा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अबधेश कुमार चौधरीले बताए । यसबारे थप जानकारी लिने काम भईरहेको उनले बताए ।
शुरुमा कोरोना संक्रमण पुष्टि भएका नुरी मस्जिदमा बस्ने ११ भारतीय र २ नेपाली मस्जिद भएको भुल्के गाँउको चिया पसल र किराना पसलमा पटक पटक आवत जावत गरेकाले कोरोना संक्रमणको संख्या बढ्न सक्ने वडा अध्यक्ष चौधरीले बताए । भुल्के गाँउमा कोरोना संक्रमण हुनेको संख्या बढेसंगै स्थानीयमा त्रास फैलिएको उनले बताए । उनले जनप्रनिधिहरुले पनि अब कसरी काम गर्ने भन्ने त्रास बढेको बताए ।