इटहरीः उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा कोरोना संक्रमण कतारबाट आएका स्थानीय एक युवाबाट फैलिएको आशंका गरिएको छ । उनि चैत्र ११ गते कतारबाट भुल्के स्थित घर आईपुगेको सूचना प्राप्त भएको त्रियुगा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अबधेश कुमार चौधरीले बताए । उनका अनुसार आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुष्टि भएका ८ जना मध्येका एक हुन् ।
ती युवा कतारबाटै घर आउदा नै ज्वरो लिएर आएको भन्ने सूचना आएको वडा अध्यक्ष चौधरीले बताए । वीपीमा पुन परीक्षण गरिएका ८ मध्ये अर्का एक स्थानीय युवा भारतबाट रोजगारीको शिलशिलामा घर फर्किएर आएको पाइएको वडा अध्यक्ष चौधरीले बताए । वडा अध्यक्ष चौधरीले भने –‘कतार र भारतबाट आएका मध्ये एकले संक्रमण फैलाएको आशंका छ । यसको सबै बिवरण भोलि बिहान ८ बजेभित्रमा वडालाई प्राप्त हुन्छ ।अनि जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयलाई बुझाउछौं ।’
वीपीबाट पुष्टि भएका संक्रमित ८ मध्ये १ युवा चैत्र ११ मा कतारबाट आएको कुरा ती युवाको पारिवारिक स्रोतबाट सूचना आएको वडा अध्यक्ष चौधरीले बताए । उनले पहिला संक्रमित देखिएका ११ भारतीयहरु मंसिरमै नेपाल प्रवेश गरेको रेकर्ड भेटिएको बताए ।
सो बिषयमा आफुलाई जानकारी भने नआएको उदयपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एव्म प्रवक्ता भिमप्रसाद भट्टराईले बताए । उनले भने –‘वडा अध्यक्षले नै भन्नु भएको हो भने त्यो कुरा हुन सक्छ , किन भने हामीभन्दा नजिक वडा अध्यक्ष लगायत त्यहाँका जनप्रतिनिधिहरु हुन् । वहाँहरुको सूचना आधिकारी हुदैन भन्न चाँही मिल्दैन ।’ उनले सो बिषयमा आफुले पनि खोजी गरि प्रहरीलाई डिटेल्स लिन निर्देशन दिने बताए ।