इटहरीः कोरोना संक्रमणको इपिसेन्टर नै बनेको उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा थप ३ जनामा कोभिड १९ संक्रमण भएको पुष्टि भएको छ ।
धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पुन ः परीक्षण थप तीन जनामा कोभिड १९ पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्धारा गरिने नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
कोशी अञ्चल अस्पतलले संकलन गरेको स्वाबमा उनिहरुमा कोभिड १९ पोजेटिभ देखिएपछि पुन ः परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । प्रतिष्ठानमा गरिएको पुन ः परीक्षणबाट भुल्केका २४ वर्ष, ६० वर्ष र ७२ वर्षका पुरुषमा कोभिड १९ संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि भुल्केका २४ जनामा संक्रमण देखिएको थियो । यो सँगै उदयुरमा मात्र कोरोना संक्रमितको संख्या २७ पुगेको छ , भने देशभर ४५ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।
हिजो अर्थात मंगलबार मात्र भुल्के बस्तीका ११ जनामा संक्रमण भएको पुष्टि भएको थियो । शुक्रबार १२ र शनिबार एक जनामा संक्रमण देखिएपछि गरिएको परीक्षणको क्रममा विराटनगरको प्रयोगशालामा ८ जना र काठमाडौंको प्रयोगशालमा ३ जनामा संक्रमित थपिएका थिए ।
संक्रमण देखिएका व्यक्तिलाई विराटनगर पठाउने ल्याउने तयारी भइरहेको छ । नयाँ संक्रमितसँगै मंगलबार विराटनगर ल्याउन छुटेका एक व्यक्तिलाई पनि ल्याइने छ । थप ३ संक्रमितलाई विराटनगर पठाउने तयारी भइरहेको बताइएको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केका सबै संक्रमितहरुको प्रदेश सरकारले स्थापना गरेको कोरोना उपचार बिषेश अस्पतालमा उपचार भइरहेको छ ।
उदयपुरको भुल्केमा समुदायमा कोरोना देखिएको भएपनि संक्रमणको स्रोत अझै खुल्न सकेको छैन । मस्जिलमा रहेका जमातीमार्फत कोरोना फैलिएको आशंका गरिएकोमा उनीहरु चार महिना अगाडि नै नेपाल आएको खुलेपछि संक्रमणको स्रोत खुलेको छैन ।
मंगलबार संक्रमण पुष्टि भएका ११ जनामध्ये ३ जना लकडाउन सुरु हुनु अगाडि विदेशबाट आएको खुलेको छ । अहिले उनीहरुमार्फत नै संक्रमण फैलिएको आशंका हुन थालेको छ । संक्रमित १८ वर्षीय युजा भारतको युपीमा उर्धु भाषा अध्ययन गरेर लकडाउनभन्दा केहि दिनअघि मात्र घर आएको खुलेको छ ।
यसैगरी संक्रमित अन्य दुई जना वैदेशिक रोजगारीबाट आएको खुलेको छ । फागुन महिनामै घर आएका उनीहरुबाट संक्रमण फैलिएको हो या जमातीबाट फैलिएको हो भन्ने यकिन हुन सकेको छैन ।
संक्रमितको संख्या एकै दिन ११ जना बढेपछि बस्तीमा त्रास फैलिएको छ । भारतबाट आएका जमाती बसेको खवरपछि स्वाब संकलन गर्दा बैशाख ५ र ६ गते १३ जनामा कोरोना पुष्टि भएको थियो । लगत्तै स्थानीय प्रशासनले भुल्के क्षेत्र सिल गरी प्रदेश र नेपाली सेनाको काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले तीन दिन लगाएर ३ सय २० जनाको स्वाब संकलन गर्दा थप १२ जनामा संक्रमण देखिएको हो ।
२४ जनामा संक्रमण देखिएपछि त्रियुगामा सुरक्षा कडा बनाउने र परीक्षण ब्यापक बनाउने निर्णय प्रदेश सरकारले मंगलबार गरेको थियो । तर, थप परीक्षणको प्रक्रिया बुधबार अगाडि बढेको छैन ।आवश्यक उपकरण नभएकोले थप परीक्षणको प्रक्रिया अगाडि नबढेको हो ।