इटहरीः नेपाली सेनाको टोलीले उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केबाट संकलन गरि काठमाडौं लगेको स्वाबको परीक्षण गर्दा थप ३ जनामा कोरोना सकंम्रण भएको पुष्टि भएको छ । योसंगै भुल्केमा बुधबार छ जना संक्रमित थपिएका छन् ।
६ जना थप भएसंगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ४८ पुगेको छ । जसमा प्रदेश एकमा मात्र जम्मा संक्रमित हुनेहरुको संख्या ३० पुगेको छ । प्रदेश १ मा कुल संक्रमित मध्ये १२ जना भारतीय नागरिक हुन् । १४ जना उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के गाँउका १४ जना हुन् । त्यसमा पनि ५ जना एकै घर परिवारका सदस्य हुन् । बाँकी ४ जना विराटनगर उपमहानगरपालिका वडा नम्बर १७ का बासिन्दा हुन् ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टाँडीको क्वारेन्टाइनमा बसेका तीन जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः स्वाब परीक्षण गर्दा ३ जना संक्रमित फेला परेको जनाएको थियो । सेनाले लगेको स्वाब टेकुमा परीक्षण गर्दा ३ जना थपिएको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालयका एक अधिकारीका अनुसार थपिएका संख्या सहितको विवरण भोलि मात्र सार्वजनिक गरिने छ ।
मन्त्रालयले थपिएका संक्रमितका बारेमा प्रदेश सरकारलाई भने जानकारी दिइसकेको छ । थप भएका ३ संक्रमितमध्ये एक जनालाई बुधबार नै विराटनगर ल्याएर अस्पताल भर्ना गरिएको मुख्यमन्त्री कार्यालयको सुचना डेस्कले जनाएको छ ।
उदयपुरको त्रियुगा ३ भुल्केस्थित नुरी मस्जिदमा रहेका १२ भारतीय र चार नेपालीमध्ये गत शुक्रबार ११ भारतीय र १ नेपालीमा कोरोना पुष्टि भएको थियो । यस्तै शनिबार उनीहरु मध्येका अर्का नेपालीमा कोरोना पुष्टि भयो । बाँकी दुई नेपाली र एक भारतीयलाई टाँडी क्वारेन्टाइनमा राखिएकोमा बुधबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएसँगै उनीहरुलाई पनि कोभिड १९ अस्पताल ल्याएर भर्ना गरिएको छ ।
भुल्केको मस्जिद आसपासका ११ जनामा मंगलबार कोरोना पुष्टि भएको थियो । उनीहरुलाई पनि विराटनगर स्थित सोही अस्पतालमा भर्ना गरिएको छ । मुख्यमन्त्री कार्यालयको सुचना डेस्कका अनुसार बुधबार टाँडीका ३ जना र उदयपुरका एक जनामा कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ । अस्पतालमा अहिले २ महिलासहित २८ जनालाई राखिएको सूचना डेस्कले जानकारी दिइएको छ ।