इटहरीः उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के गाँउमा कोरोना संक्रमण फैलिएको पुष्टि भएको एक सातापछि प्रदेश १ सरकार पहिलो पटक बिहिबार सो क्षेत्रमा आफ्नो उपस्थिती जनाएको छ । बिहान नेपाली सेनाको पूर्वी पृतना हेर्ड क्वाटर इटहरीका पृतनापतिसंगै प्रदेश १ सरकारका तर्फबाट सामाजिक विकास मन्त्री जीवन घिमिरे संक्रण पुष्टि भएको एक सातापछि भुल्के क्षेत्र पुगेका हुन् ।
भुल्के पुगेका समयमै प्रदेश सरकारले आवश्यक कार्य गर्न नसकेको स्वीकार गर्दै स्थानीय व्यक्ति र सरोकारवालाहरुसंग छलफल गरेका थिए । समुदाय तहमै कोरोना संक्रमण फैलिएपछिको अवस्था, रोकथाम, स्वास्थ्य परीक्षण, उपचार लगायतका बिषयमा मन्त्री घिमिरेले छलफल गरेका थिए ।
करिब अढाई घण्टा छलफल गरेका मन्त्रीलाई स्थानीय जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय र स्वास्थ्यकर्मीसहितको ११ जनाको टोलीले पालैपालो भुल्के लगायत उदयपुर जिल्लाकै बारेमा जानकारी गराएका थिए । उनिहरुले मन्त्रीसामु राखेका जिज्ञासाको जवाफ दिदै मन्त्री घिमिरेले प्रदेश सरकार संक्रमण कहाँबाट फैलियो भन्ने कुराको अन्तिम टुङ्गोमा पुगेको बताएका थिए ।
भारतको युपिमा उर्धुभाषा अध्ययन गरेर घर फर्किएका र दुबईबाट आएका व्यक्तिमध्ये एकजनाबाट संक्रमण फैलिएको हो भन्ने निष्कर्षको नजिक प्रदेश सरकार पुगेको मन्त्री घिमिरेले बताएका थिए । सुक्ष्मअध्ययनले भारतबाट आएका युवाकै घरका पाँच सदस्यमा संक्रमण फैलिएको देखिएको छ । ११ जना भारतीय जमातीबाट भन्दा पनि भारत या दुबईबाट आए स्थानीय ती युवाबाटै संक्रमण फैलिएको भन्नेमा प्रदेश सरकार नजिक पुगिसकेको उनले छलफलका क्रममा बताएका छन् ।

मन्त्री घिमिरेले रोग कहाँबाट आएको भन्ने निशकर्षमा प्रदेश सरकारले पुगिसकेकाले अब उनीहरुसँग क कसको भेट भयो , कहाँ कहाँ पुगे भन्ने कुराको चाँडो भन्दा चाँडो खोजी गरि उपचार बिधिलाई फराकिलो बनाउने बताए ।
प्रारम्भिक अनुसन्धानमा उनीहरुको सम्र्पक २ सय ५१ जनासँग पुगेको भन्ने छ,’ मन्त्री घिमिरेले भने, ’ती व्यक्तिको चाँडै परीक्षण गरिनेछ ।’ स्वास्थ्यउपचारका सन्र्दभमा मन्त्री घिमिरेल कोशी अञ्चल अस्पतालमा १ सय जनाको रहेको र त्यसले धान्न नसक्ने अवस्था सृजना हुँदै गएकाले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तत्काल १ सय जनालाई एकैसाथ उपचार हुने गरी प्रकृया अघि बढाएको जानकारी दिए । धरानले एक सय जना थेग्न नसकेको अवस्थामा पुरै खाली गरेर एक हजार पुर्याउने लक्ष्य रहेको बताए ।

94380090_2700955886807037_2837050165020327936_n
मन्त्री घिमिरले उदयपुरमा कोरोनो उपचार केन्द्र बनाउनका लागि एक करोड बजेट विनियोजन भइसकेकाले तत्काल प्रक्रिया अघि बढाउन अस्पताल विकास समितिलाई निर्देशन समेत दिए । छलफका क्रममा उनले तीन तहका सरकार बीच समन्वयमा कमि भएकाले कतिपय अवस्थामा समस्याहरु आएको स्वीकार समेत गरे । मन्त्री घिमिरेले स्वास्थ्य सामग्री अभाव मुलुकमै भएता पनि उदयपुरमा अभाव हुन नदिन आवश्यक व्यवस्था मिलाइएको बताए ।
छलफलमा सबैभन्दा अगाडी फ्रन्टमा खटिएका स्वास्थ्यकर्मीको तर्फबाट स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले स्वास्थ्य सामग्री, दक्ष जनशक्ति लगायतका सुरक्षाकवजहरु अभाव रहेकाले तत्काल आपुर्ति गरिदिन आग्रह गरेका थिए ।
उनले जिल्लाका विभिन्न ठाउँका ४ सय ५ जनामा गरिएको स्वाब परीक्षण मध्ये २८ जनामो कोरोना पुष्टि भएको जानकारी दिए । संक्रमित क्षेत्रका जनप्रतिनिधि त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले संक्रमित क्षेत्रमा आउजाउँ भएका २ सय ५ जनाको स्वाव र २ हजार १ सय जनार्को यापिड परीक्षण तत्काल गर्नुपर्ने माग गरे । उनले स्वाब परीक्षण धरान र बिराटनगरमा मात्र हुने भएकाले संकलनलगायतका प्राविधिक काममा असहज भएकाले सहजिकरण गरिदिन आग्रह पनि गरे ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले प्रदेश सरकारले उदयपुर जिल्लालाई सिल गर्ने निर्णय गरेपनि अन्य प्रदेशसँग समन्वय नहुँदा वाहिर जिल्लाबाट सर्वसाधारण आउनेक्रम नरोकिएको बताए । उनले यो वेला उ र त्यो भनेर एक अर्कामा दोषारोपण गर्नुभन्दा सबैले जिम्वेवार भएर काम गर्नुपर्नेमा जोड दिए ।
प्रदेश सांसद विमल कार्की, नारायण बुर्जामगर, अम्बिका थापा, जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले लकडाउन थपिदै जाँदा किसान, मजदुरको जीवनयापन कष्टकर बन्दै जानुकासाथै किसानले खेती गर्न र उत्पादन गरेका बस्तु विक्री गर्न नपाएको गुनासो पोखे । उनीहरुले अस्पतालमा आएका बिरामीलाई चिकित्सकले उपचार गर्न नमान्ने, एम्बुलेन्स चालकले विरामी बोक्न नमान्ने जस्तो समस्या देखिदै गएको मन्त्री घिमिरेलाई जानकारी गराएका थिए ।