इटहरीः भोजपुरको हतुवागढी गाउँपालिकाका एकजना २६ वर्षीय युवकमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । वैदेशिक रोजगारबाट आए ती युवकलाई कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले पुष्टि गरेका छन् ।
हतुवागढी गाँउपालिका कोरोना संक्रमणको इपि सेन्टर बनेको उदयपुरसँग सिमाना जोडिएको गाँउपालिका हो । वैदेशिक रोजगारीबाट आएका भोजपुरका ती युवकमा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ४८ पुगेको छ।
ती युवकको र्यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएको थियो । पुन ः परीक्षणका लागि उनको स्वाब वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएको थियो । प्रतिष्ठानले गरेको पुनः परीक्षण रिर्पोटमा पनि कोरोना पोजेटिभ नै आएको हो । यसअघि सर्लाहीका १४ वर्षीय किशोर र उदयपुरकी ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो। यससँगै नेपालमा कोरोना संक्रमित ४८ भएका छन्। जसमा १० जना निको भएर घर फर्किसकेका छन् । हतुवागढीका एक युवकसंगै प्रदेश १ मा संक्रमितको संख्या ३० पुगेको छ ।