इटहरीः भारतबाट आएका कोरोना संक्रमित जमातीहरुको बसेको विराटनगरको रानी स्थित मस्जिद र मदरसामा बिहिबार कोरोना संक्रमण परीक्षण गरिएको छ । वीरगन्ज र उदयपुरको भुल्केका कोरोना संक्रमित मुस्लिम अगुवा (जमाती) बसेको विराटनगरका मस्जिद÷मदरसामा रहेका प्रतिनिधिको कोरोना परीक्षण गरिएको हो । 

विराटनगर महानगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले रानी क्षेत्रमा अवस्थित मस्जिदमा वीरगन्ज र उदयपुरका संक्रमित नयाँ दिल्लीबाट आईबसेको क्षेत्रका मुस्लिम अगुवाहरुमा कोरोना परीक्षण गरेको हो । उनीहरुको द्रूत परीक्षण (आरडीटी) र स्वाब नमूनासमेत संकलन गरिएको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीका अनुसार महानगरको स्वास्थ्यकर्मीको टोलीले रानी मरकजका पदाधिकारी तथा अगुवा मुस्लिमहरुको कोरोना परीक्षण गरेको हो । उनले भने, ‘‘सबै ९६ जनाको आडीटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको छ । उनीहरुमध्ये नै १८ जनाको स्वाब संकलन गरी थप परीक्षणको लागि कोशी अस्पतालको ल्याबमा पठाएका छौं ।’’ पराजुलीले मरकजका पदाधिकारीसंगको छलफलपछि सबैको कोरोना परीक्षण भएको जानकारी दिएका छन् ।

रानी मरकजका सचिव मोहम्मद इलसाद अहमद (बब्लु) का अनुसार मुस्लिम समुदायले सरकारको निर्देशनलाई समेत पालना गर्दै आएको बताउँदै भने,‘‘उदयपुरको भुल्केमा कोरोना संक्रमण देखिएनु भएका हाम्रो समुदायका अगुवासंग भेटघाटक र छलफल गरेकोले हामीले पनि परीक्षण गराएका हौं ।’’ उनका अनुसार उदयपुरका संक्रमित दिल्लीबाट ११ डिसेम्बर र वीरगन्जमा संक्रमित पुष्टि भएका जमाती डिसेम्बर १९ तारेखमा रानी आएका थिए । मस्जिदमा धार्मिक कार्यक्रमहरुमा पनि सहभागी भएका थिए । ‘‘उहाँहरुमै रोगको संक्रमण देखिएकोले हामीले पनि परीक्षण गर्न आवश्यक ठानेका हौं’’,उनले भने,‘‘यो काममा विराटनगर महानगर र स्वयम् मेयर पराजुलीले पनि पहल लिनु भएको हो । हामीसंगल छलफल पनि गर्नुभयो ।’’ अहिले रोगको समेत संक्रमण फैलिएपछि मरकजका पदाधिकारी र समुदायमा समेत कोरोना परीक्षण गर्न माग उठ्दै आएको थियो ।

Swab-test
बब्लुले भोलिदेखि शुरु हुने रोजामा पनि मस्जिदमा प्रतिनिधिमुलक ढंगले र अरु सबैले घरघरमै प्रार्थना गर्ने सहमति भएको सुनाउँदै भने,‘‘मोरङमा ८९ वटा मस्जिद छन् । रानीमा क्षेत्रमा मात्र १२ वटा छन् । । मस्जिद र मदरसा संचालन गराउने जिम्मेवारी मरकजको हुन्छ । हामीले सबैतिर सतर्कता अपनाउन र सरकारको निर्देशन पालना गर्न भनिसकेका छौं ।’’ नेपाल सरकारले दिएको निर्देशनको पालना गरेको र महानगरको पहलमा समेत छलफल गरीे मस्जिदमा बढीमा पाँचजना मात्र धार्मिक कार्यक्रममा सहभागी हुने सहमति भएको उनले सुनाए ।
जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनलाई अक्षरस पालना गर्दै मुस्लिम आयोगको सर्कुलरअनुसार पनि मस्जिदमा भींभांड नगर्ने र समुदायमा पनि सामाजिक दूरी काम गराउन संस्थागत पहल समेत गरेका बब्लुले बताएका छन् । विराटनगर महागरपालिकाका प्रमुख भीम पराजुलीले भने,‘‘रमजानको विषयमा पनि छलफल गरी सरकारको निर्देशनलाई पालना गर्ने, मस्जिदमा रहनेहरुबीच पनि सामाजिक दुरी कायम गर्ने र समुदायमा सचेतना फैलाउने विषयमा मुस्लिम समुदायका अगुवाहरुको सकारात्मक सहयोग प्राप्त भएको छ ।’’ पराजुलीले कोरोना संक्रमण मुस्लिम समुदायमा फैलन नदिन समुदायस्तरमा प्रयाससमेत थाल्नु सकारात्मक भएको बताए । विराटनगरका मुस्लिम समुदाय धार्मिक सद्भाव कायम राख्न र स्थानीय सरकारले चालेका कदममा साथ सहयोग दिने काममा सक्रिय रहेको पराजुलीको भनाई छ ।
मुस्लिम धर्मालम्बीको रोजा भोलिदेखि शुरु हुँदैछ । घरघरमै बसेर कुरान पढ्ने र प्रार्थना गर्ने र मस्जिदमा बढीमा पाँच जना रहने जस्ता विषयमा पनि सकारात्मक काम भएको पराजुलीले बताए ।