इटहरीः कोरोना संक्रमण नियन्त्रणका लागि सबै खालका तयारी पुरा भएको प्रदेश सरकारले पटक पटक बताइरहदा मुख्यमन्त्रीकै गृह जिल्ला भोजपुरका स्वास्थ्य निकायहरुमा स्वास्थ्य सामाग्रीहरुको चरम अभाव भएको छ ।
प्रदेश सरकारले कोरोना संक्रमणका विरुद्ध लड्नका लागि अग्रभागमा रहने स्वास्थ्यकर्मीहरुका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु ठाँउ ठाँउ पुर्याएको दावी गरिएपनि प्रयाप्त नहुँदा स्वास्थ्यकर्मीहरु जोखिम मोलेर फिल्डमा खटिन बाध्य छन् ।
एक २६ बर्षीय स्थानीय युवकमा कोरोना संक्रमण पुष्टि भएको भोजपुरको हतुवागढी गाँउपालिकामा कार्यरत स्वास्थ्यकर्मी पर्याप्त स्वास्थ्य सामाग्री अभावमा यतिबेला फिल्डमा खटेर काम गर्न बाध्य छन् ।
प्रदेश सरकारबाट प्राप्त एक थान पिपिइ र एक थान ९५ मास्क फाँटी सकेको हतुवागढी गाँउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सागर राईले बताए । उनले स्वास्थ्य सामाग्री नभएको बिषयमा धेरै पटक प्रदेश सरकार र जिल्लाका जिम्मेवार अधिकारीहरुलाई जानकारी गराएपनि अहिलेसम्म स्वास्थ्यचौंकीका स्वास्थ्यकर्मीहरु त्यही फाँटेको पिपिइ र तुना चुडिएको ९५ मास्क लगाएर संक्रमित हुने र संभावित संक्रमितहरुको रगत लिन बाध्य भईरहेको बताए ।
उनले भने पर्याप्त स्वास्थ्य सामाग्री र आरडीटि नभई अब सिधै पीसीआर प्रविधिबाट गाँउपालिकाको वडा नम्बर ६ होम्ताङ्गमा कोरोना परीक्षणका माग गर्ने लगातका बिषयमा निर्णय गर्न गाँउपालिका कार्यालयमा आरआर टीमको बैंठक बसिरहेको छ । बैंठकले केही महत्वपूर्ण निर्णय गर्ने छ भन्ने लागेको छ ।
हतुवागढी गाँउपालिका कार्यालयका स्वास्थ्य प्राविधिक उमेश राईले पनि प्रदेश सरकारबाट प्राप्त एक थान पिपिइ र ९५ मास्क कामै नलाग्ने भईसकेको बताए । उनले भने अस्ती संक्रमण पुष्टि भएका २६ बर्षीय युवकको आरडीटि टेष्ट म आफैले रगत तानेर लिएको हो । फाँटीसकेको पिपिइ र तुना चुट्टिएर कामै नलाग्ने भएको ९५ मास्क बाध्य भएर लगाएर उनको रगत लिए । अन्तिममा उनलाई संक्रमण भएकै पुष्टि भयो । म समेत सुरक्षित छु भन्ने के ग्यारेण्टी छ र ।
उनले यस्तो परिस्थितीमा स्वास्थ्य प्राविधिकहरुले पछि हट्नु पर्ने अवस्था पनि नरहेको बताए । उनले आवश्यकता अनुसारका स्वास्थ्य सुरक्षा सामाग्री भए फिल्डमा गएर काम गर्न कुनै समस्या नहुने बताए । तर, अहिले भने आफुहरुलाइै जोखिम बढेको उनको भनाई छ । उमेशले नै ती युवाको स्वाब लिएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान टेष्टका लागि आएका थिए ।
उनले भने ती युवाको स्वाब धरान लिएर आएकै बेला विराटनगर स्थित प्रदेश सरकार पनि पुगे । समाजिक मन्त्रालय अन्तरगतको स्वास्थ्य विभागमा हतुवागढीको हालको अवस्था र स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर फिल्डमा कार्य गरिरहेको अवस्था बारे जानकारी गराएको उनले बताए । फाँटिसकेको पिपिइ र तुना चुडिएर लगाउनै नसकिने भएको ९५ मास्कका बिषयमा पनि जानकारी गराएको तर, विभागबाट ५० थान आरडिटी टेष्टका लागि प्रयोग हुने किट र केही औषधी बाहेक अन्य सामाग्री पाउन नसकेको उनको भनाई छ । व्यक्तिगत स्वास्थ्य सुरक्षा सामाग्री अभावमा ढुक्क भएर काम गर्ने अवस्था नहरेको उनले बताए ।
परिवारका दिदि बहिनी बाहेक अरुको रिर्पोट नेगेटिभ
स्वास्थ्य प्राविधि उमेश राईका अनुसार कोरोना संक्रमित २६ बर्षीय युवकका बुबा, उनलाई मोटरसाईकलमा राखेर विभिन्न स्थान पुग्ने उनका साथी, सासुराली तर्फका ससुराबा, आमा, श्रीमति र छोरीको आरडिटि टेष्ट गर्दा रिर्पोट नेगेटिभ आएको उनले बताए । देशका धेरै स्थानमा आरडिटि टेष्टमा नेगेटिभ आएको केही समयपछि पोजेटिभ पनि आएको छ , त्यसैले उनिहरुलाई कडा निगरानीमा होम क्वारेन्टाइनमा राख्नु पर्ने अवस्था रहेको बताए । उनले भने टेष्ट किटको अभावमा ती युवाको बहिनी र दिदिको चाँही कोरोना परीक्षण गर्न पाइएको छैन । अब प्रदेश सरकारबाट प्राप्त ५० थान किट लिएर हतुवागढी पुगेपछि उनिहरुको पनि परीक्षण गरिने छ । उनले वडा नम्बर ५ होम्ताङ्गलाई पुरै सिल गरेर पीसीआर टेष्टलाई नै तत्काल अगाडी नबढाए अवस्था जटिल बन्न सक्ने बताए ।
वडा ६ होम्ताङ्ग पुरै सिल
हतुवागढी गाँउपालिका वडा नम्बर ६ होम्ताङ्ग निवासी २६ बर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएपछि सो वडा पुरै सिल गरिएको वडा अध्यक्ष सागर राईले बताए । सो वडाको होम्ताङ्गमा मात्रै ६ सय ४० बढी घर परिवार बसोबास गरिरहेको उनले बताए । उनले भने अहिले सो वडाको सबै नाका सिल गरेर ती युवाले कस कसलाइै भेटे कहाँ कहाँ गए भन्ने विवरण तयार पार्न मै आफै बिहानबाट खटिरहेको छु । सुरक्षाकर्मी सहित होम्ताङ्गमा खटिरहेका उनले भने जनप्रतिनिधि र सुरक्षाकर्मी पनि जोखिममै रहेर फिल्डमा खट्नु पर्ने अवस्था रहेको उनले बताए । एउटा गतिलो मास्क समेत नपाएर त्यसै हिड्न पर्ने अवस्था रहेको उनको भनाई छ । साँझसम्ममा ती युवाले भेट गरेका स्थानीय बासिन्दा र स्थानहरुका बिषयमा सबै विवरण आइसक्ने उनले बताए ।
संक्रमित युवाले वडा अध्यक्षलाई नै ढाँटे
सुनसरीको झुम्का आफन्तकोमा हुँदै झुम्काको चतरा बस स्टेण्डबाट अटो टेम्पो रिजर्भ गरेर चतरा बजार आएकी उनकी श्रीमतिलाई भेट्न गएका उनि पुनः सार्वजनिक बस चढेर चतराबाट धरान आएका थिए । धरानमा केही दिन घुमेर होटल समेत बसेर उनि इटहरी आफन्तकोमा आएका थिए । उनि रामधुनी नगरपालिकाको भानुनगर टोलमा रहेका आफन्तको घरमा गएका थिए । त्यसपछि उनि श्रीमति सहित उदयपुरको मैनामैनी पुगेका थिए । ३ दिन चतरामा बसेका उनि मैनामैनी ७ दिन बसेका थिए । ससुरालीबाट साथीको मोटरसाईलका हतुवागढी ६ होम्ताङ्ग आएका थिए । उनि विदेशबाट आएको सूचना पाउन साथ आफुले नै भेटेर कोरोना संक्रमण फैलिरहेको र स्वास्थ्य चेंक गरे नगरेको बिषयमा जानकारी लिदाँ काठमाण्डौंमै चेंक गरेको र आफु घर भन्दा बाहिर कत्तै नगएको सूचना दिएको वडा अध्यक्ष राईले बताए । उनले भने अहिले बुझ्ना त ती युवा घर नबसि चारै तिर गएको पाईयो । ती युवा साथीको मोटरसाईल लिएर भोजपुर सदरमुकाम पनि पुगेको बुझिएको उनले बताए । स्वास्थ्य अवस्था सामान्य नै रहेका ती युवा होम्ताङ्गमा भएको दुई वटा मरिमराउनमा मलामी गएको, गाँउमा भलिबल मस्तीले खेलेको र जंगलमा सिकार खेल्न पनि साथीहरुसंग मिलेर पटक पटक गएको सूचना आएको वडा अध्यक्ष राईले बताए । उनले आफूलाई पनि कोरोना संक्रमण बारे जानकारी भएको र आफू कहि नगई घरमै बसेको भन्दै ढाटेको वडा अध्यक्ष राईले बताए ।