इटहरीः भोजपुरको हतुवागढी गाँउपालिका वडा नम्बर ६ होम्ताङ्गका २६ बर्षी युवकलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रहरीको सहयोगमा गाँउपालिका कार्यालयले तत्काल स्वास्थ्य परीक्षण गर्नु पर्ने स्थानीय ८० जनाको लिष्ट तयार गरेको छ ।
गाँउपालिका कार्यालयले ती युवाको नजिक भएका परिवारका सदस्य, आफन्त, साथीभाई र नजिक भएका ८० जनाको लिष्ट तयार गरिसकेको हतुवागढी गाँउपालिकाका प्रमुख प्रेमबहादुर राईले बताए ।
प्रहरीको सहयोगमा लिष्टिङ गरिएका ८० जनाकै पीसीआर प्रविधिबाट टेष्ट गर्ने गाँउपालिकाको योजना भएपनि जिल्लामा नै पीसीआर प्रविधिबाट गरिने टेष्ट सामाग्री न्यून भएकाले आज १५ जनाको मात्र गरिने गाँउपालिका अध्यक्ष राईले बताए । उनले भने हामीसंग टेष्ट गर्ने सामाग्री नै छैन्, जिल्लामा भएको १५ थान लिएर सिडियो साहेब आउदै हुनुहुन्छ, वहाँ आइपुग्न साथ १५ जनाको टेष्ट कार्य थालिने छ । बाँकी भोलि प्रदेश सरकारका तर्फबाट हेलिकप्टरमार्फत स्वास्थ्य सामाग्री ल्याएर र्यापिड टेष्ट गरिने उनले बताए ।
उनले भने –‘स्वास्थ्य सामाग्री अभावमा स्वास्थ्यकर्मीहरुले पनि काम गर्न जोखिम भएको गुनासो गरिरहेको बेला मुख्यमन्त्रीसंग फोनमा कुरा गरेको र वहाँले के के सामाग्री आवश्यक हो ? लिष्ट तयार गरि पठाउन भनेपछि सोही अनुसार मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई लिखित रुपमै आवश्यक स्वास्थ्य सामाग्री माग गरिएको छ । सम्भवत भोलि मुख्यमन्त्री र सामाजिक विकास मन्त्री स्वास्थ्यकर्मी सहित हतुवागढी आउनु हुने सूचना पाएको छ ।’
संक्रमण देखिएका वैदेशिक रोजगारबाट आएका २६ बर्षीय युवालाई घोरेटारको आइसोलेशनमा राखिएको र संम्भभएसम्म आजै विराटनगरको कोरोना बिषेश अस्पताल लैजाने तयारी गरेको उनले बताए । उनले भने–‘आफ्नो गाँउपालिकामा एम्बुलेन्स नभएकाले जिल्लाबाट एम्बुलेन्स हिडेको खबर आएको छ । केही शंकास्पद व्यक्तिहरुको स्वाब पनि लिएर जानु पर्ने भएकाले समय पुगे आजै नभए भोलि बिहानै उनलाई एम्बुलेन्समार्फत विराटनगर पठाइने छ ।’
उनले आजैबाट हतुवागढी गाँृपालिका वडा नम्बर ६ लाई पूर्ण रुपमा सिल गरेको र एक वडाबाट अर्को वडामा जानलाई रोक लगाइएको बताए । त्यसका लागि सबै वडाहरुले लकडाउनलाई पूर्ण रुपमा पालना गर्ने निर्णय पनि भएको गाँउपालिका अध्यक्ष राईले बताए । उनका अनुसार बाहिरबाट हतुवागढी गाँउपालिका प्रवेशमा कडाई गरिनुका साथै सुरक्षा निकायहरुले सबै नाकाहरुमा उच्च सर्तकता अपनाइएको छ ।