इटहरीः दमक नगरपालिका वडा नम्बर ३ निवासी ६२ बर्षीय एक बृद्धलाई कोरोना संक्रमण पुष्टि भएपछि सुक्रबार साँझबाट दमकलाई सिल गरिएको छ । नगरपालिकाकी उपमेयर तथा प्रवक्ता गीता अधिकारीले एक प्रेस विज्ञप्ती प्रकाशन गर्दै दमक सिल गरेको जनाएकी छन् । 

उनका अनुसार दमकको उतरमा मावा खोला पुलदेखि बेलडाँगी सम्म , दक्षिणमा कृष्ण मन्दिर राजमार्ग उतर ,पुर्वमा हिमालय मावि देखि बेलडाँगी सम्म र पश्चिममा मावा खोला पुल सम्म आवात जावत पुर्ण
रुपमा बन्द गरिएको उनले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । उपमेयर अधिकारीले लकडाउनलाई पूर्ण पालना गरि घर भित्रै बस्न नगरवासीमा आग्रह पनि गरेकी छन् । उनले कोरोना पोजेटिभ देखिएका बृद्धलाई सुक्रबार नै विराटनगरको कोरोना अस्पताल पठाएको जनाइन् । ती बृद्धका छोरा र आमालाई दमकै आइसोलेशनमा राखिएको छ । उनिहरुको रिर्पोट नेगेटिभ आएको उपमेयर अधिकारीले बताइन् । कोरोना पोजेटिभ देखिएका बृद्धका छोरा चैत्रको पहिलो साता नै वैदेशिक रोजगार गरी दुबइबाट दमक ३ स्थित घर आएका थिए । विदेशबाट आएका छोरालाई कोरोना संक्रमण नदेखिनु तर बृद्ध बुबालाई देखिनु नौलो भएको दमकबासीको भनाई छ । उनमा कसरी कोरोना संक्रमण भयो भन्ने बिषय खोजी गरिने नगरपालिकाले जनाएको छ ।