इटहरीः कोरोना संक्रमणको इपिसेन्टर बनेको उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के र एक जना संक्रमित देखिएको भोजपुरको हतुवागढीमा केही वेरपछि प्रदेश १ मा मुख्यमन्त्री सहितको एक टोली हेलिकप्टर मार्फत पुग्ने भएका छन् ।
नेपाली सेनाको हेलिकप्टरमार्फत मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे , कानून तथा गृहमन्त्री हिक्मत कार्की र डाक्टरहरुको टोली ती क्षेत्रमा पुग्ने बुझिएको छ । हतुवागढी मुख्यमन्त्री राईको निर्वाचन क्षेत्र पनि हो ।
हतुवागढी गाँउपालिकाका प्रशासकीय अधिकृत मणिराम खतिवडाका अनुसार वडा नम्बर ६ का संक्रमित युवालाई जिल्ला अस्पताल भोजपुरको एम्बुलेन्समा राखि एक घण्टा अगाडी मात्र बिराटनगरको कोशी अञ्चल अस्पताल पठाइएको छ ।
सुक्रबार ती युवाको नजिक भएका ७ जनाको र्यापिड टेष्ट गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको खतिवडाले बताए । किटको अभावले १४ जनालाई पिसिआर टेष्टको लागि वीपी स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको उनले जनाए । ती १४ जना संक्रमित युवाको धेरै नजिक भएका व्यक्तिहरु हुन् ।
मुख्यमन्त्री सहित आज हतुवागढी थप स्वास्थ्य सामाग्री र टेष्ट किट आउने उनले बताए । टेष्ट किट आएपछि सो वडाका थप व्यक्तिहरुमा टेष्ट गरिने छ । हिजोमात्रै ८० भन्दा बढीको लिष्ट तयार भएको बताइएको छ । संभावित खतराबाट बच्न सकेसम्म धेरैको टेष्ट गरिने गाँउपालिका कार्यालयले जनाएको छ । २६ बर्षीय युवामा संक्रमण देखिएपछि वडा नम्बर ६ पूर्णरुपमा सिल गरिएको छ । अन्य वडाका नाका पनि बन्द गरि आवतजावतमा पूर्ण प्रतिवन्ध लगाइएको छ ।