दमकः दमक नगरपालिका वडा नम्बर ३ का ६२ वर्षीय वृद्धमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि दमक नगरपालिकाले उच्च सतर्कता अपनाउँदै ‘कन्ट्याक्ट ट्रेसिङ’को काम थालेको छ । मेयर रोमनाथ ओलीले सतर्कता अपनाउन र घरमै बसिदिन नगरवासीसँग अनुरोध पनि गरेका छन् ।
मेयर ओलीमा अनुसार एक महिना अघि यूएईबाट आएका ३४ वर्षीय छोरामार्फत कोरोना भाइरस बुबामा सरेको देखिएकाले कन्ट्याक्ट ट्रेसिङ जटिल हुने देखिएको बताए । स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाई भन्छन् ‘घरका आमा, बुबा, छोरा र उहाँकी श्रीमतीलाई र्या्पिड परीक्षण गरिए मध्ये श्रीमतीबाहेक तीनै जनालाई पोजिटिभ देखियो’, तर पीसीआर परीक्षणमा आमा र छोराको नेगेटिभ आएको छ । यसले पनि कन्ट्याक्ट ट्रेसिङ जटिल हुने छ ।’
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चारै जनाको पीसीआर परीक्षण गरिएको थियो । त्यसमा बुवाको मात्र पोजेटिभ रिपोर्ट आएको छ । कोरोना संक्रमित वृद्ध डाइबेटिजका रोगी थिए । त्यसैले आमाछोरामा कोरोनाको संक्रमण तेस्रो चरणमा पुगेर निष्क्रिय भएपनि बुवामा एक्टिभ भएको हुनसक्ने चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य कार्यालयका फोकल पर्सन चापागाईंका अनुसार संक्रमित व्यक्तिले हिँडेको ठाउँको पहिचान गरेर विभिन्न व्यक्तिको पनि स्वाब परीक्षणका लागि धरान पठाउने तयारी भइरहेको छ । त्यसका लागि चार सय जनाभन्दा बढीको स्वाब संकलन गरिने उनले जानकारी दिए ।
कोरोना संक्रमण पुष्टि भएका ६२ वर्षीय वृद्धको घरमा बुधबारमात्र मरिमराउको सुद्धाइँको काम सकिएको जनाइएको छ । संक्रमण पुष्टि भएका वृद्धको सासुआमाको १२ दिनअघि निधन भएको थियो । आमाको निधन भएपछि संक्रमित वृद्धकी श्रीमती र दिदी सासु दमकस्थित उनको घरमा किरियामा बसेका थिए ।
दिदी सासु इटहरी वडा नम्बर २० हाँसपोसाबाट दमकस्थित उनको घरमा आएर किरियामा बसेकी थिइन् । काममा बस्ने क्रममा उनको घरमा हाँसपोसाबाट दिदीसासुसहित २, दमक नगरपालिका ६, ७ र ९ नम्बर वडाबाट ४÷४ जनासहित करीब ३५ जना आफन्त आएका थिए । संक्रमित पुष्टि भएका वृद्धका छोरा एक महिनाअघि दुबईबाट घर फर्किएका थिए । ती युवा, उनकी आमा र श्रीमतिलाई दमकको आइसोलेसनमा राखिएको छ । दमक नगरलाई पुरै सिल गरिएको छ ।