इटहरीः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई सहितको टोली भोजपुरको हतुवागढी गाँउपालिका पुगेर उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के तर्फ फर्किएका छन् ।
केही थान पिपिइ, ज्वरो नाप्ने थर्मल गन लगायतका स्वास्थ्य सामाग्री लिएर नेपाली सेनाको हेलिकप्टरबाट हतुवागढी पुगको मुख्यमन्त्री सहितको टोली करिब २ घण्टाजति गाँउपालिकामा रहेको हतुवागढी गाँउपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए ।
मुख्यमन्त्रीले गाँउपालिकाका अध्यक्ष सहित जनप्रनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुसंग कुराकानी गर्दै प्रदेश सरकार साथमा रहेकाले कोरोना भाइरस विरुद्ध ढुक्क भएर लड्न आग्रह गरेका थिए । उनले नआत्तिकन आ आफ्नो जिम्मेवारी पुरा गर्न अनुरोध पनि गरेको गाँउपालिकाका अध्यक्ष राईले बताए ।
मुख्यमन्त्री राईले हतुवागढी गाँउपालिका वडा नम्बर ६ का २६ बर्षीय एक युवकमा कोरोना संक्रमण देखिपछिको सो गाँउपालिका र जिल्लाकै पछिल्लो अवस्थाका साथै थप संक्रमण फैलन नदिनकालागि स्थानीय निकायले गरिरहेको कार्यका बारेमा पनि जानकारी लिएका थिए । उनले स्थानीयलाई लकडाउनको पूर्ण पालना गरि घरभित्रै सुरक्षित तरिकाले बस्न आग्रह पनि गरेका छन् ।
उनले पिपिइ , थर्मल गन सहित अन्य केही स्वास्थ्य सामाग्री गाँउपालिकाका अध्यक्ष राईलाई हस्तान्तरण गरेका थिए । बाँकी केही सामानहरु गाडीमार्फत पठाईसकिएको उनले बताएको अध्यक्ष राईले बताए । मुख्यमन्त्रीसंगै गएका कानून तथा गृहमन्त्री हिक्मत कार्कीले शान्ति सुरक्षाका बिषयमा सुरक्षा निकायका अधिकारीहरुसंग जानकारी लिएका थिए । संगै रहेका समाजिक विकास मन्त्री जीवन घिमिरेले हतुवागढी लगायतका क्षेत्रहरुमा र्यापिड टेष्टका लागि प्रदेश सरकारले आवश्यक साधन स्रोत, स्वास्थ्य सामागी र जनशक्ति उपलब्ध गराउने बचन दिएका थिए ।
मुख्यमन्त्री सहितको टोली हेलिकप्टर मार्फत हतुवागढीबाट उदयपुरको भुल्के तर्फ फर्किसकेको गाँउपालिका अध्यक्ष राईले जानकारी दिएका छन् ।