इटहरीः लकडाउनकै कारण नेपालमा कोरोना भाइरस फैलन नपाएको उच्चस्तरीय समन्वय समितिले निष्कर्ष निकालेसंगै १५ बैशाखसम्म गरिएको लकडाउन पुनः बढ्ने भएको छ । आज उच्चस्तरीय समन्वय समितिका संयोजक रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैंठकले कोरोना भाइरस (कोभिड(१९) नियन्त्रणमा सरकारी तहबाट भईरहेका प्रयास सही बाटोमा रहेको रहेको निष्कर्ष पनि निकालेको छ ।
समितिले लकडाउनकै कारण संक्रमण फैलिन नपाएकाले थप केही साता लकडाउनको समय बढाउनु पर्ने राय दिएको हो । लकडाउन थप्ने बारे निर्णय भने मन्त्रिपरिषद्को बैंठकले गर्ने समिति संयोजक पोखरेलले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले १५ वैशाखपछि लकडाउन के गर्ने भन्ने विषयमा प्रस्ताव ल्याउन निर्देशन दिएपछि उच्चस्तरीय समन्वय समितिको बैठक बसेको उनले जनाए । सिंहदरबारमा शनिबार बसेको बैठकले लकडाउनलाई निरन्तरता दिने निष्कर्ष निकालेको हो ।
यसैबीच कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य हवाई उडान आगामी जेठ २ गतेसम्मका लागि स्थगित गर्ने निर्णय लिएको छ। बैठकले आन्तरिक तथा बाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो। यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई उडानमाथि रोक लगाइएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार शनिबार बसेको समितिको बैठकले जेठ २ (मे १५) सम्मका लागि सबैखाले उडानलाई लकडाउनमै राख्ने निर्णय गरेको हो।