इटहरीः जनता बहुमुखी क्याम्पसमा संचालित क्वारेन्टाइनमा शौचालय भएपनि त्यहाँ बस्ने मध्येका एकले आफुलाई अलग्गै शौचालय बनाउनु पर्ने माग गरेपछि इटहरी उपमहानगरपालिकाका मेयरको ठाडो आदेशमा क्याम्पसको पछाडी पट्टीको वालमै सटाएर शौचालय निर्माण थालिएपछि शनिवार स्थानीयले विरोध गरि निर्माण कार्य रोकेका छन् ।
क्वारेन्टाइन संचालित जनता बहुमुखी क्याम्पसभित्र नै शौचालय हुँदा हुँदै बस्ती नजिक टाँसिएको क्याम्पसको वालैमा सटाएर शौचालय बनाउदा कोरोना संक्रमणको जोखिम हुन सक्ने भन्दै स्थानीयहरुले इटहरीका मेयर द्धारिकलाल चौधरीको मौखिक आदेशमा शौचालय निर्माण गर्ने ठेक्का पाएका ठेकेदार र निर्माणमा खटिएका मजदुरहरुलाई स्थानीयहरुले बाहिरबाट ढुङ्गा प्रहार गरि निर्माण कार्य रोकेका हुन् ।
स्थानीयहरुले कुनैपनि हालतमा बाहिर शौचालय बन्न नदिने भएका छन् । क्वारेन्टाइन बाहिर वालमै सटाएर शौचालय बनाउने बिषयमा मेयर चौधरीले अनुमति नलिई आफुखुसी निर्माण कार्य थालेको क्याम्पस प्रशासनका एक कर्मचारीले बताएका छन् ।
क्याम्पसको पछाडी पट्टीको भागमा इटहरी उपमहानगरका मेयरको आदेशमा ७ वटा शौचालय निर्माणको तयारी थालेको थाहा पाएर त्यसले दीर्धकालिन असर टोलमै गर्ने भएकाले आफूहरुले निर्माण कार्य रोकेको स्थानीय राजकुमार सापकोटाले बताए । उनले भने –‘एक त बस्तीको बीचमा क्वारेन्टाइन बनाइएको छ । ती माथि कोरोना संक्रमण हुने खतरापनि छ । त्यसमाथि पनि बाहिर शौचालय बनाउदा थप जोखिम मात्रै होइन, शौचालय निर्माण थालिएको वालसंगै जोडिएको टोल पुरै दुसित हुने छ । त्यही भएर टोलबासी मिलेर शौचालय निर्माण गर्न नदिएका हौ ।’

j1
सापकोटाका अनुसार क्याम्पसको पछाडी पट्टीको बाहिर भागमा शौचालय निर्माणमा जुटेका मजदुरहरुलाई तत्काल हटाइएको छ । कृष्ण खड्काले सो स्थानमा शौचालय निर्माणको ठेक्का पाएको आफुले बुझेको उनले बताए । टोलका एक हुल बासिन्दाहरुले निर्माण रोक्नुका साथै क्वारेन्टाइनको सुरक्षाका लागि खटिएका प्रहरीलाई समेत जानकारी गराएको सापकोटाले बताए । प्रहरीले मेयरलाई सोध्न् भनेको र मेयरलाई फोन गर्दा सम्पर्क नभएको सापकोटाले बताए । टोलबासीहरुलाई असर पर्ने गरि शौचालय निर्माण थालिएको र आफुहरुले रोकेको जानकारी स्थानीय नेकपाका नेता बन्नुलाल चौधरीको घरमा पुगेर एक दर्जन स्थानीयले गराएको सापकोटाले बताए । स्थानीय नेता चौधरीले पनि नगरपालिकाबाट आफुखुसी कुनै कुराको बिचार नगरि टोलबासीलाई नै असर गर्ने गरि शौचालय निर्माण थालिएकाले विरोध जनाएर आजलाई निर्माण कार्य रोकेको भन्ने जानकारी लिएर १०÷१२ जना स्थानीयहरु आएको बताए ।
उनले भने –‘जनता क्याम्पसमा भएको क्वारेन्टाइन बाहिर शौचालय निर्माण कार्यका बिषयमा कम्प्लेन गर्न टोलका साथीहरु मेरो घरैमा जानु भएको थियो । मैले तत्काल मेयरलाई फोन गरे, तर वहाँ एउटा बैंठकमा छु भनेपछि मैले थप कुरा गर्न पाइन । घर आएका स्थानीयहरुलाई मेयरसंग आफु पुनः कुरा गर्नै भन्दै घर पठाइदिए ।’
स्थानीय सापकोटाका अनुसार स्थानीय टोलबासीहरुलाई नै असर गर्ने गरि क्याम्पसको पछाडीको भागमा शौचालय निर्माण गर्न लागेको र आजलाई सो कार्य रोकेको बिषयमा जनता बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भोजराज श्रेष्ठलाई फोन गरि जानकारी गराइएको छ । क्याम्पस प्रमुखले त्यसरी जथाभावी शौचालय बनाउँदा पछि क्याम्पसलाई समेत असर गर्ने भएकाले भोलि(आइतवार) इटहरी नगरका मेयर उपमेयरसंगै कुरा गर्ने वचन दिएको सापकोटाले बातए ।