इटहरीः ‘जंगलमा शिकारीको खोजी गरीरहेका बेला कुमै ठोक्ने गरी पाँच जना शिकारी लहरै हिडेको देखियो । दुरी धेरै पनि थिएन, धेरै भए, २० मिटरजति मात्रै थियो होला, सातो फुल्तो उडिहाल्यो, लौ मार्यो अब ‘सास फेर्न पनि गाह्रो भयो । सायद हामी झपक्क बसिसकेको थिएनौँ होला, अन्धाधुन्ध शिकारीले फायर खोल्यो । बारुदले आँखा पोल्यो, अगाडी केही पनि देखिएन, केबल धुवाँ धुवाँ मात्र थियो । मैले यस्तो दृश्य फिल्ममा मात्र देखेको थिए सर ।’
मकवानपुर नयाँ बस्तीका बिजय प्रजा मोरङ डिभिजन वन कार्यालय अन्तर्गत सलकपुर सब डिभिजनका रेञ्जर हुन् । पाँच जना शिकारीले खोलेको फायरबाट बचेका उनै रेञ्जर बिजयको ‘कालमाथि बिजय प्राप्त’ गर्दाको कालजायी अनुभव हो यो ।
लकडाउनका समय थियो । गत चैत २१ गते खाना खाएर दैनिक गस्तीको योजना बनाउँदै थिए बिजयले । सलकपुर सवडिभिजनकै कार्यक्षेत्र भित्र पर्ने लोहन्दा केराबारी साझेदारी वनका हेरालुले शिकारी जंगलभित्र पसेको खबर दिए । वनजंगलमा शिकारीले आगो लगाएको, बन्दुक पड्केको आवाज आउन थालेको सूचना त अघिल्लो दिन देखि आइरहेको थियो ।
बन हेरालुको समुहले एकैछिनमा फेरी फोन गरे । शिकारीको समुह निकै ठूलो छ । कम्तिमा १०र१५ जना जति छन्, सबैले बन्दुक भिरेका छन् । यो खवर डिभिजनल वन अधिकृत बिशाल घिमिरेसम्म पुग्यो । घिमिरेले नजिकै रहेको शसस्त्र प्रहरी बलको साथ लिएर जान सव डिभिजनमा निर्देशन दिए । तत्काल टीम बन्यो, एक जना हवल्दार र एक शिपाही शसस्त्र प्रहरी बलले दिने भयो । पाँच नाल बन्दुक सहित छ जना शसस्त्र प्रहरी वन रक्षक, दुई जना शसस्त्र प्रहरी सहित टीमको नेतृत्व गरे रेञ्जर बिजयले ।
बिजय प्रजा नेपालको लोपोन्मुख जातिमा रेञ्जरमा जागिर खाने दोस्रो व्यक्ति हुन् । पहिलो व्यक्ति कविराज प्रज्ञा हाल चितवनमा रेञ्जर पदमा कार्यरत छन् । बिजयले यहाँ जागिर खाएको तीन वर्ष पनि पुगेको छैन । जुँगाको रेखी समेत राम्रोरी नआएको बिजयले हाँके शिकारी बिरुद्धको टीमलाई अनि पुगे साझेदारी वनको हेरालु घरसम्म ।
हेरालुसँगको सबै सूचना लिएपछि दुई टोली बनाएर जंगलको पूर्व र पश्चिम छरिने निर्णय भयो । बिजयले भने, करिब एक घण्टाको हिडाईपछि वनको पश्चिमतिरको गछिया खोलामा दुबै टोलीको भेट । हामी के गर्ने भन्ने रणनीति बनाउँदै थियौँ । हामी उभिएकोबाट दक्षिणतिरको पोखरीतिर दुई राउण्ड फायर भएको आवाज आयो । जुन क्षेत्र शिकार गर्ने क्षेत्रका रुपमा पथ्र्याे । वन्यजन्तु पानी खान आउँदा ढुकेर बसेका शिकारीले डयाङ्गै बन्दुक पड्काएको हुने अनुमानमा हामी दुबै टोली त्यतै तिर लाग्यौँ ।
हामी हिड्दै गर्दा फेरी बन्दुकको आवाज आयो । हामीले शिकारीलाई घेरा हाल्ने तरिकाले बाटो बदल्यौँ । खोलाको किनार भन्दा अलि परको बाटो समात्यौँ ।
उनले भने, झाडी बुट्यानको बाटोमै थियौँ । फेरी अर्काे ठाँउमा बन्दुक पड्क्यो । शिकारीको दुईटा समुह छन् र शिकारी धेरै छन् भन्ने अनुमान लगायौँ । यही बिचमा कसैले जंगलमा आगो लागेको खबर सव डिभिजनमा गरेछ । जुन लोकेसन बन्दुक पड्केको पोखरी भन्दा कम्तिमा पाँच र छ किलोमिटर टाढा थियो । मैले सोचेकी आगो नलागेका पनि हुनसक्छ । हाम्रो ध्यान उतातिर मोड्नका लागि यो खवर गरेको हुनुपर्छ । आगो निभाउन भन्दा पनि शिकारी पक्रन प्रमुख कुरा ठानेर मैले टोलीलाई त्यतैतिर लग्दै थिए ।
फेरी बन्दुक पड्क्यो । लौ बरबाद भयो, आज धेरै वन्यजन्तु मारे, शिकारी नै धेरै छन् भन्ने लाग्यो । अलि अलि मनमा डर पनि पस्यो । यति बेला सात पटक बन्दुक पड्कि सकेको हामीले गन्ति गरीसकेका थियौँ । जति बेला पनि मुडभेट हुने निश्चित जस्तै थियो । थप टोली लिएर आउनु पर्ने जस्तो पनि लागिसकेको थियो । उनले भने, म पनि त्यस्तो अनुभवी मान्छे काँ हो र सर । भर्खर त जागिर खाको मैले । जब धमाधम फरक फरक ठाउँमा बन्दुक पड्कन थाले अनि बल्ल यस्तो सम्झिए । शिकारीले हामीलाई घेरा हालिसके कि भन्ने पनि डर लागि राथ्यो ।
उनले भने, धेरै अनुभव थिएन । टोलीको नेतृत्व मैले नै गरेको हुँदा मैले शसस्त्र वन रक्षकका कुमार बस्नेतलाई असहज स्थिति सिर्जना भएर तपाईले पनि फायर खोल्नुहोला है भनिसकेको थिए ।
यति भन्दा नभन्दै झाडी बुट्यान भएको जंगल सकिनै लागेको रहेछ । एक्कासी पाँच जना मान्छे काँधमा बन्दुक बोकेर आफुतिरै आएको दृश्य ‘ ओ माई गड‘। कति आत्तिनु ? के भन्नु ? आँखा नै झिम झिम भयो मेरो त । हामी बस्ने नपाउँदै ति मध्य सबैभन्दा अगाडीको कपाल पालेको केटोले पहिलो फायर खोल्यो । अर्काेले पनि खोल्यो । अनि हाम्रो कुमार बस्नेत दाइले पनि जवाफी हवाई फायर गर्नुभयो । अनि त पाँचै जनाले अन्धाधुन्ध फायर खोलेर भागे ।
कठिन परिस्थिति भयो त्यतिबेला ? नेपालकथाको प्रतिप्रश्नमा रेञ्जर बिजयले भने, सर बारुदले आँखा पोल्यो, त्याँनेरी त पुरै धुवाई धुवाँ मात्र थियो बारुदको । मैले त एक छिन आँखा नि खोल्न सकिन । हरियो देखियो आँखा खोल्दा त । तर हाम्रो सबरहरु तत्काल दगुरिहाले र एक जनालाई नजिकै र अर्काेलाई अलि पर छोप्न सफल भइयो । दुई नाल बन्दुक पनि बरामद भयो ।
शिकारीले त्यत्रो फायर खोल्दा भाग्यले बच्नु भयो है ? बिजयले भरोशायोग्य यसरी जवाफ दिँदै भने, उनीहरु आत्तिहाले, फायर त खोले तर अन्धाधुन्ध रुपमा । हामी तत्काल नसुतेको भए निकै ठूलो क्षति हुन्थ्यो । उनीहरु भागेपछि हामीले ठोक्न सक्थ्यौँ तर हाम्रो उद्धेश्य मान्छे मार्ने नभई उनीहरुलाई पक्रनु थियो । हामी सफल पनि भयौँ । मान्छे सहित बन्दुक पनि पक्राउ पर्यो ।
बिजयका बुबा हेटौडा नजिकैको नयाँ बस्तीमा बसोबास गर्ने प्रजा समुदायका पहिलो सरकारी जागिरे हुन् । उनी जिल्ला वन कार्यालय मकवानपुरमा वन रक्षक नै थिए । बिजयले भने, मैले इन्जिनियर बन्ने सपना बनाएको थिए । बुबाले मान्नुभएन । कि त मेरो छोरो डेफु हुन्छ नभए रेञ्जर त अवश्य हुन्छ भन्नुहुन्थ्यो अनि बुबाको सपना पूरा गर्न मैले फरेष्ट्री पढेको हुँ ।
निकै दुख्ख गरेर पढेका बिजय अहिले रेञ्जर छन् तर उनी रेञ्जर भएको बुबाले देख्न पाएनन् । २०७४ जेठ ५ गते फरेष्टरमा जागिर भएका बिजयका बुबा २०७४ साल फागुनमा स्वर्गे भए । फरेष्टरको जागिर गर्दा गर्दै रेञ्जरमा नाम निकालेपछि बिजयकी आमाले भनेको कुराले उनलाई सधैँ रुवाउने गर्छ ।
उनकी आमाले भनेकी थिइन्, बाबु तँ रेञ्जर भइस् । तेरा बा भएको भए, कति खुसी हुन्थे होलान् । तँ रेञ्जर भएको देख्ने धोको पूरा भएन । अब तैले तेरो बुबाको इज्जत राख्ने काम गरेस् । स्वर्गबाट भएपनि तैले वनमा जागिर खाको हेरेर खुसी होलान् ।
जंगल छिरेको शिकारीको वन्यजन्तुलाई हानेको गोलीले अर्काे शिकारी मरेको घटना बिजयले स्कुल पढ्दा धेरै सुनेका थिए । नालबाट निस्केको गोली लागेपछि भगवानले हात थापे बाहेक ज्यान बच्न मुश्किलै हुन्छ । त्यो दिन शिकारीका लागि त बिजय दुश्मन जस्तै थिए । पाँच जना शिकारीले एकसाथ फायर खोल्दा गोली लागेको भए, बिजय अनि उनको टीमको अवस्था के हुन्थ्यो होला ? सायद अनुमान गर्न कठिन हुन्छ ।
बिजय त्यतिबेलाका क्षण सकभर सम्झन चाहान्न् । उनी भन्छन्, सायद होस उडेको (बेहोसी भएको) र होस फर्केर आएको मैले प्रत्यक्ष अनुभव गर्न पाए । पसिना चै बगेन । हाम्रो जवाफी फायरपछि उनीहरु भागे अनि मभित्र पनि एउटा यस्तो जोश आयो, मैले नि थाम्न सकिन, सबरहरुसँगै शिकारी छोप्न म पनि बेस्सरी दगुरे ।
त्यो घटनामा सँगै रहेका शसस्त्र प्रहरीका दुई जनाले फायर खोलेनन् । उनीहरु केबल सुते मात्रै । सायद फायर खोल्नका लागि आदेश दिने आधिकारिक व्यक्ति नभएर पनि हुनसक्छ । तर शिकारी दुगुरी सकेपछि छोप्न भने उनीहरु लागि परे ।
यो घटनामा बिजय निकै दुखी नि भए । ज्यानको बाजी राखेर जंगलको भित्रबाट बन्दुक सहित शिकारीलाई जब पक्रेर कार्यालयमा पुगे बिजय । अनि नजिकै रहेको शसस्त्र प्रहरी बलको इन्सपेक्टर आएर शिकारीसँग फोटो खिचे । तत्काल पत्रकारलाई फोन गरेर आफ्नो नेतृत्वमा गएको टोलीले गरेको कारवाहीमा शिकारी पक्रेर सव डिभिजन वन कार्यालयमा बुझाएको स्थानीय एफएममा बजाउन सफल भएछन् ।
बिजय भन्छन, स्थानीय सञ्चारमाध्यामबाट त शसस्त्र प्रहरीले शिकारी पक्रेर सव डिभिजनमा बुझाएको छ नि भन्ने के हो भनेर फोन आउन थाल्यो । अनि हामी तिन छक पर्यौँ ।
जागिरको खाएको तीन वर्ष नपुग्दै उनले गरेको इमानको मूल्याङ्कन होस् । लोपोन्मुख जातिको एउटा कलिलो उमेरको बच्चाले सबैलाई प्रेरणा पलाउने काम गर्यो भन्ने कुन्जुस्याई गर्न हुदैन । स्मरणीय छ, दाङ घरका भएका एक जना रेञ्जरले कैलालीको कर्णाली चिसापानी भन्दा माथिको जंगलमा शिकारीसँग मिलेर बदेल मारेकोे घटना जिल्ला वन अधिकृत समक्ष पुगेपछि स्पष्टीकरण सोधिएको थियो । अर्काको पैसामा ‘रक्सी र सुरासुन्दरी प्रेमी’ बन्ने ती रेञ्जरले तत्कालिन डिएफओलाई शिकारीकै बन्दुकले मार्ने धम्की दिएपछि रेञ्जर र डिएफओको झकडाको फायल वन मन्त्रालयसम्म पुगेको थियो ।
नेपालको संरक्षण अभियानमा लागेको सबै इमान्दार व्यक्तिहरुका तर्फबाट रेञ्जर बिजय तिमीलाई नमन छ । तिमी जस्तै इमान्दार राष्ट्र सेवक भएरै त होला, वनजंगलमा हरियाली छाइरहेको छ र वनमा कोइली बास्छन् र वन्यजन्तुले सास फेर्न पाएका छन् । सबै कर्मचारी बद्मास छैनन् र हुँदैनन् पनि । अघिल्लो पुस्तामा पनि बिजय जस्तै कर्मचारी थिए र त, अहिले जंगल छ, जंगलभित्र मंगल छ । नेपालीकथाबाट