इटहरीः अहिले बिहान ११ बजे प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक सातामै निर्माण गरेको कोभिड १९ अस्पतालको शुभारम्भ गर्दै छन् । प्रदेश १ का कोरोना भाइरस संक्रमित विरामीको उपचार गर्नका लागि प्रतिष्ठानले सय बेडको आइसोलेसनसहितको कोभिड १९ अस्पतालको मुख्यमन्त्रीले निरिक्षण र शुभारम्भ गर्ने कार्यक्रम तय भएको प्रतिष्ठानका सह प्रवक्ता डा. अशोक ऐरले बताएका छन् । यो अस्पतालको शुभारम्भ संगै अब कोभिड १९ संक्रमण पुष्टि भएका बिरामीहरुलाई सोही अस्पतालमा राखेर उपचार गरिने प्रतिष्ठानले जनाएको छ । यसअघि प्रतिष्ठानले कोरोना आशंका भएका बिरामीहरुलाई प्रतिष्ठानले बनाएको आइसोलेशनमा राखेर उपचार गरिरहेको थियो ।
यसअघि प्रदेश सरकारले विराटनगरमा कोशी अञ्चल अस्पतालको मातहतमा रहने गरि कोरोना अस्पतालको निर्माण गरि संचालनमा ल्याइसकेको छ । जहाँ उदयपुरको भुल्के , भोजपुरको हतुवागढी र झापाको दमकका कोभिड १९ संक्रमितलाई राखेर उपचार गराईरहेको छ । सो अस्पताल पनि १ सय बेडको हो । वीपी प्रतिष्ठानको अस्पताल संचालसंगै अब प्रदेश १ मा २ सय बेडका कोरोना बिषेश उपचार अस्पतालको संख्या २ पुगेको छ ।
वीपी प्रतिष्ठानमा भने द्धन्द्दपीडितहरुको उपचार गर्न स्थापना गरिएको पुर्नस्थापना केन्द्रलाई नै कोभिड अस्पतालमा परिणत गरिएको हो । सो स्थानमा फिजियोथेपारीको इकाई सञ्चालनमा रहेको डा. ऐरले बताए । प्रतिष्ठानले एक साता समय लगाएर कोभिड अस्पतालको रुप दिएको हो । सय बेड आइसोलेसन भएको अस्पतालमा कम्तीमा १० बेड आइसियु रहने डा.ऐरले बताए ।
अस्पतालमा वार्ड, अप्रेशन थिएटर, आइसियु, पेडियाट्रिक आइसियु, गाइनो वार्ड,एचडियुलगायत सेवाहरु सञ्चालनमा रहनेछन् । यो अस्पतालमा छुट्टै एक्स रे सेवा, भिडियो एक्स रे पनि त्यही हुनेछ । भविष्यमा सिटि स्क्यान पनि सोही अस्पतालमा राख्ने तयारी रहेको प्रतिष्ठानले जनाएको छ ।