इटहरीः बेलबारी नगरपालिकाले लकडाउनका कारण काठमाण्डौंमा अलपत्र परेका ३ सय ५० जना नगरवासीलाई आज बेलबारी ल्याईपुर्याएको छ । नगरपालिकाको पहलमा उनिहरुलाई काठमाण्डौको बिभिन्न स्थानबाट सुरक्षित तरिकाबाट निःशुल्क रुपमा बेलबारी नगरपालिका ल्याइएको बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन् ।
बिभिन्न कामको शिलशिलामा काठमाण्डौं रहेका र लकडाउनका कारण घर फर्कन नपाई अलपत्र परेका नगरवासीहरुले घर फर्कन चाहेको जानकारी दिएकाले नगरपालिकाले बसहरुको व्यवस्थागरी सुरक्षाकर्मीहरुको सहकार्यमा ३ सय ५० जनालाई बेलबारी ल्याइएको हो ।
बसमा ल्याइएका ३ सय ५० जनाकै आज बेलबारी नगरपालिका कार्यालय अगाडीको राजमार्गमा सुरक्षा निकायको निगरानीमा नगरपालिका स्वास्थ्यकर्मीहरुले पहिलो चरणको स्वास्थ्य जाँच गरेका छन् । सबै यात्रुहरुको थर्मल गनले ज्वरो नापिएको उपमेयर पराजुलीले बताइन् । त्यसको अलवा नगरवासीले ल्याउनु भएका सरसमानमा पनि सेनिटाइजर लगायतका औषधी छर्ने कार्य पनि गरिएको उनले बताइन् ।
काठमाण्डौबाट आएका वडा नम्बर १, २, ३ र ४ का बासिन्दाहरु बेलबारी नगरपालिका अगाडीको राजमार्गबाटै आफ्नो व्यवस्थापनमा घर पुग्ने र बाँकीलाई काठमाण्डौंबाटै आएका गाडी मार्फत आ आफ्ना वडाका पायक पर्ने स्थानसम्म पुर्याउने व्यवस्थापन गरिएको बेलबारी नगरपालिकाका प्रवक्ता एव्म वडा ३ का वडा अध्यक्ष योगेन्द्र सुवेदीले बताए ।
उपमेयर पराजुलीका अनुसार आज काठमाण्डौंबाट आएका ३ सय ५० जना नगरवासीहरुलाई अनिर्वाय १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न भनिएको छ । वहाँहरु बसे नबसेको निगरानी गर्न वडाका जनप्रतिनिधि एव्म कर्मचारी, वडामा रहेका स्वास्थ्यकर्मी र सुरक्षा निकायलाई आग्रह गरिएको छ । ३ सय ५० नगरवासीलाई नै आफैपनि सचेत भएर घरमै बस्न भनिएको र कुनै समस्या भए वडामा रहेका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा आउन आग्रह पनि गरिएको उपमेयर पराजुलीले बताइन् ।
उनले एकले अर्कासंग डराउनु पर्ने अवस्था नरहेकाले सबैले सबैलाई मानववियताको व्यवहार गरि सामाजिक दुरीलाई ख्याल गर्नुका साथै लकडाउनको पूर्ण पालना गर्न नगरका सबै वडाबासीहरुलाई अनुरोध पनि गरेकी छन् । उनले काठमाण्डौंदेखि अलपत्र परेका आफ्ना नगरवासीलाई बेलबारीसम्म ल्याउनका लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले चुनौतिका बीच गरेको सहयोगप्रति आभार व्यक्त गरेकी छन् ।