इटहरीः मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर एकमा कोरोना संक्रमितहरुको संख्या जतिसुकै बढेपनि त्यसको नियन्त्रण, उपचार लगायतको व्यवस्थापन गर्न प्रदेश सरकार सक्षम रहेको बताएका छन् । आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक सातामा निर्माण सम्पन्न भएको कोभिड १९ अस्पतालको निरिक्षणपछि संचारकर्मीहरुसंग कुरा गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।
उनले प्रदेश सरकारले कोरोना भाइरस विरुद्ध लड्न राम्रो तयारी गरेकाले प्रदेश १ मा जतिसुकै संक्रमित भेटिएपनि उनिहरुको सफल उपचार गर्न प्रदेश सरकार तयारी अवस्थामा रहेको बताए । उनले धरानमा एक सातामै १ सय बेडको अस्पताल निर्माण गरेर संचालनमा आउनु त्यसको उदाहरण भएको बताए । आवश्यकता हेरी वीपीमै थप १ सय बेडको अस्पताल निर्माण गर्न प्रदेश सरकार तयार रहेको उनले बताए । त्यसका लागि प्रदेश १ को कोरोना संक्रमितहरुको अवस्था हेरी प्रतिष्ठान प्रशासनले आवश्यक सहयोग माग्ने बताए । उनले कोरोना भाइरस विरुद्ध लड्न प्रदेश सरकारले कुनै पनि कसरबाँकी नराख्ने उनले बताए । प्रतिष्ठानलाई आवश्यक पर्ने बजेट देखि लिएर अन्य सबै खालका सहयोग गर्न प्रदेश सरकार तयार रहेको उनले बताए । उनले भरखरै प्रतिष्ठानमा उपकुलपति भएर आएका डा. ज्ञानेन्द्र गिरीलाई एक सातामै कोभिड २९ अस्पताल निर्माण गरि संचालनमा ल्याएको भन्दै धन्यवाद पनि दिए ।
उनले भने प्रदेश सरकार प्रदेशवासी जनताको साथमा छ । जस्तो सुकै परिस्थितमा पनि सबै हिसाबले प्रदेश सरकार कोरोना भाइरस विरुद्ध लड्न तयार रहेकाले आत्तिनु पर्ने अवस्था छैन् । लकडाउनलाई पूर्ण पालना गरौं, विचलित नहऔं । सबै बर्ग क्षेत्रले संयम भएर काम गरौं ।
उनले हतुवागढीमा देखा परेका संक्रमित युवाबाट समुदाय स्तरमा कोरोना संक्रमित भयो कि भन्ने त्रास रहेको बिषयमा संचारकर्मीसंग कुरा गर्दै त्यही कुरा बुझ्नका लागि आफु दुई मन्त्री सहित हिजोमात्रै हतुवागढी पुगेर आएको बताए । उनले समुदाय स्तरमा कोरोना भाइरस फैलन नदिन ती युवा पुगेका स्थानलाई पूर्ण रुपमा सिल गरि स्वास्थ्य परीक्षणको(कोरोना भाइरस) टेष्टको दायरा फराकिलो बनाएको बताए । उनले ती युवा पुगेका स्थानहरुबाट उनीसंग नजिक भएकाहरुको स्वाब संकलन गरि परीक्षणका लागि विराटनगर ल्याएको बताए । उनले ती परीक्षणबाट संभवत आजसम्ममा समुदाय स्तरमा ती युवाका कारण संक्रमण भए नभएको निचोड निस्कने बताए ।
उनले हतुवागढीको भिजिट पछि उदयपुरको भुल्के आएको र त्यहाँको अवस्था बुझेको बताए । सो स्थानका स्थानीय सरकारका प्रमुख लगायतले उदयपुरको संक्रमित क्षेत्रमा सबैलाई पायक पर्ने स्थानमा कोरोना उपचार केन्द्र निर्माण गर्न माग गरेकाले त्यहाँबाट संकलन गरिएका सबै स्वाबहरुको रिर्पोट आएपछि आवश्यकताका आधारमा कोरोना उपचार केन्द्र बन्न सक्ने मुख्यमन्त्री राईले बताए ।