इटहरीः लाइसेन्सको ट्रायल दिन भोजपुरबाट इटहरी आएका सरोज पौडेल २ दिनदेखि धरानको वेलकम होटेलमा बसिरहेका छन् । घरमा छोरी बिरामी भएकाले हतार गरेर घर फर्कने तयारीमा गरेका पौडेल अकस्मातको बन्दको कारण समस्यामा परेका छन् । छोरी बिरामी परेको चिन्ता एकातिर छ भने होटलमा बस्दा पैसा सकिएको तनाव अर्कातिर ।
पौडेलजस्तै समस्यामा छन् प्रदीप परियार पनि । दशैंको बहानामा काठमाडौँबाट घर फिरेका उनी इटहरीकै एक होटलमा बसिरहेका छन् । काठमाडौँबाट हिँड्दा सामान्य अवस्थामा आएका उनी इटहरी उत्रिएपछि बन्दको फन्दामा परेका छन् । बन्दबाट पीडित परियारलाई कसको बन्द हो र केको लागि बन्द भइरहेको छ भन्नेसम्म थाहा छैन । परियार र पौडेलजस्ता हजारौँ यात्रु बन्दको मारमा परिरहेका छन् । उनीहरूलाई कसले र किन बन्द गरिरहेको छ भन्ने बारेमा पनि कुनै जानकारी छैन ।
सडकमा कुनै बन्दकर्ता नभएका कारण कसले बन्द गरिरहेको छ भन्ने बारेमा अनभिज्ञता देखिन्छ । बन्दको बारेमा यात्रु मात्र होइन उच्चस्तरीय अधिकारी पनि बेखबर देखिन्छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख प्रेमप्रसाद उप्रेती कसले बन्द गराएको हो भन्नेमा आफू अझैसम्म जानकार नभएको बताउँछन् । ‘कुनै सङ्घले बन्दको घोषणा गरेको भनेर विज्ञप्ति देखेजस्तो लागेको थियो तर औपचारिक जानकारी अझैसम्म आएको छैन,’ उनी भन्छन्, ‘हामीले बन्द कसले गरेको भन्ने थाहा पाएका छैनाँै र बन्द कसरी खुलाउने भन्नेमा पनि कुनै छनक पाएका छैनौँ । यो हावाको भरमा बन्द भएजस्तो लाग्छ ।’
उप्रेतीकै भनाइमा सहमत हुँदै मोरङ प्रशासन प्रमुख भन्छन्, ‘यो बन्दले जनतालाई समस्या पारिरहेको देखिरहेका छौँ । तर कसरी बन्द खुलाउने भन्ने बाटो देखेका छैनौँ ।’ हल्लाको भरमा बन्द भइरहेको उनको भनाइ छ । यातायात व्यवसायी सङ्घबाट बन्द भएको भन्ने जानकारी प्राप्त भएको उनी बताउँछन् ।
त्यस्तै, पूर्व क्षेत्रीय ट्राफिक प्रहरीका कार्यालय इटहरीका प्रमुख राजकुमार लम्साल पनि कसले बन्द गराएको भन्नेमा औपचारिक जानकारी नभएको बताउँछन् । उनका अनुसार पछिल्लो २ दिन ट्राफिकजाम कम भएको छ र व्यवस्थापन पनि त्यति कठिन छैन । ड्राइभरहरूको बन्द हो भन्ने हल्ला सुनेको भए पनि यकिन भन्न नसकिने उनको भनाइ छ ।
के छ हल्ला ?
किन गाडी चलेन भन्नेमा यात्रु तथा उच्च स्तरका सरकारी अधिकारीहरू नै बेखबर बन्दै गर्दा अनुमानको भरमा यसले र उसले बन्द गरेको हो भन्ने आशङ्का उत्पन्न भएको छ । पछिल्लो समय जारी मुलुकी अपराध संहितामा सवारी चालकका लागि धेरै सजायको व्यवस्था गरेकाले यातायात बन्द भएको आशङ्का गरिएको छ ।
खासमा मुलुकी अपराध संहितामा आएको परिवर्तनले सवारी तथा यातायात व्यवस्था ऐनमा केही संशोधन भए पनि प्रचार गरिएजस्तै निर्दोष चालक जेल जाने अवस्था नभएको भए पनि ऐनको अबुझाइका कारण बन्द गरिएको हुन सक्ने अधिवक्ता निराजन ओझा बताउँछन् ।
सवारी तथा यातायात व्यवस्था ऐनमा ज्यान मरेको अवस्थामा हुने सजायको मनसाय प्रेरित घटनामा सर्वस्वसहित जन्मकैद भन्ने पुरानो ऐनबाट सर्वस्वसहित भन्ने हटेको छ । लापरबाही भएको प्रमाणित भएमा २ देखि १० वर्षसम्म कैद रहेकोमा संहिताले फौजदारी कसुरको सजायको न्यूनतम सजाय ३ वर्ष बनाएकाले ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाखसम्म जरिवाना हुने व्यवस्था गरेको छ । तर ३ वर्ष कैद सजाय सुनाइएका कसुरदार धरौटीमा छुट्ने संहिताले व्यवस्था गरेकाले यसको संशोधनले चालकहरू आतङ्कित हुनु आवश्यक नरहेको उनको भनाइ छ ।
ऐनमा खासै फरक नदेखिएको र चालकलाई कुनै असर नपर्ने भएकाले बन्द गर्न जरुरी नदेखिएको नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका कोशी अञ्चल अध्यक्ष गौरी लामाको भनाइ छ ।