इटहरीः झापाको बाह्रदर्शी गाँउपालिका ४ राजगढका ५० बर्षीय एक जमातीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनि दिल्लीमा भएको धार्मिक कार्यक्रममा सहभागी भएर फर्किएको खुल्न आएको छ । गाँउपालिका उपाध्यक्ष रत्ना राजवंशीका अनुसार संक्रमित ५० बर्षीय स्थानीय सोही स्थानको मदरसाका गुरु पनि हुन् । उनि केही दिनअघि भएको राहत वितरणमा पनि सहभागी भएका थिए । उनि सो स्थानमा सबैले मान्ने व्यक्ति भएकाले धेरै स्थानमा उनको आउ जाउ भएको स्थानीय लक्ष्मि राजवंशीले बताए । उनि लगायत ४ जनाको र्यापिट टेष्ट गर्दा ३ जनाको नेगेटिभ आएको र उनको पोजेटिभ आएपछि थप परीक्षणका लागि उनको स्वाब संकलन गरि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको थियो ।
उनमा कोरोना संक्रमण पुष्टि भएपछि बाह्रदर्शी गाँउपालिका वडा नम्बर ४ मा त्रास फैलिएको छ । संक्रमित व्यक्ति सामाजिक व्यक्ति पनि भएकाले उनको सम्पर्कमा आएका धेरै स्थानीयहरु त्रसित भएको बुझिएको छ । प्रहरीलाई आग्रह गरि सो स्थानलाई कडाई गरिसकेको र भोलि गाँउपालिकाको बैंठक बसेर संक्रमण अन्यत्र फैलन नदिनका लागि थप कदमहरु चाल्ने बाह्रदर्शी गाँउपालिकाकी उपाध्यक्ष रत्ना राजवंशीले बताइन् । उनको ट्राभल्स हिष्ट्रि« खोजी गर्ने काम र कन्ट्रयाक टे«सिङको कार्यपनि भोलिबाटै थालिने गाँउपालिका उपाध्यक्ष राजवंशीले बताइन् ।
उनमा संक्रमण पुष्टिभएपछि सो वडामा आवत जावतका कडाई गरिएको छ । साथै लकडाउनलाई थप कडा बनाइएको छ । गाँउपालिका र प्रहरीले सो वडाका बासिन्दाहरुलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ । उनका धेरै नजिक भएका परिवारका सदस्य, मदरसामा बसोबास गर्नेहरु, छिमेकी लगायत दुई दर्जनबढीको भोलिबाट स्वास्थ्य परीक्षण गर्ने बुझिएको छ । आइतबार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि १२ वैशाखमा झापाका ६२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो । उनि लगायत ३० जनाको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भईरहेको छ । राजगढका संक्रमित ५० बर्षीय जमातीसंगै नेपालमा संक्रमित हुनेको कूल संख्या ५२ पुगेको छ भने प्रदेश १ मा ३१ पुगेको छ । नेपालमा कोरोना संक्रमण पुष्टि भएकामध्ये १६ जना उपचारपछि घर फर्किएका छन् ।