इटहरीः प्रदेश सरकारले कोरोना संक्रमण रोक्नका लागि स्वास्थ्य परीक्षणको दायरालाई फराकिलो बनाएको बताइरहेका बेला इटहरी अस्पतालले पनि पीसीआर प्रविधिबाट गरिने कोरोना भाइरस परीक्षणका लागि स्वाबको नमूना संकलनको काम आजबाट थालेको छ । यो संगै अब स्वाब संकलनका लागि वीपी र कोशी अस्पतालबाट प्राविधिक टोली आउनस पर्ने अवस्थाको अन्त्य भएको इटहरी उपमहानगरकी उपमेयर लक्ष्मि गौतमले बताइन् ।
स्वास्थ्य प्राविधिक निर्मल चौधरीको नेतृत्वको टीमले आजबाट इटहरी अस्पतालमा पनि स्वाब लिने काम थालिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर गौतमले जानकारी दिएकी छन् । उनका अनुसार आज इटहरी उपमहानगरले जनता बहुमुखी क्याम्पस इटहरीमा निर्माण गरेको क्वारेन्टाइनमा बसिरहेको व्यक्तिहरुको स्वाब लिने कार्यको थालनी भएको उपमेयर गौतमले बताइन् । उनका अनुसार इटहरी अस्पतालले आफ्नो क्षमता विस्तार गर्ने क्रममा स्वाब संकलनको कार्य थालेको हो । यसअघि अस्पतालले आरडिटी प्रविधिबाट कोरोना भए नभएको परीक्षणको काम गर्दै आएको थियो ।
उपमेयर गौतमका अनुसार जनता बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेकाहरुको संकलित स्वाब परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईने छ । पछिल्लो समय धेरै स्थानमा दुई तीन पटक आरडिटी टेष्ट गर्दा कोरोना संक्रमणको रिर्पोट नेगेटिभ आएको तर पछि पीसीआर प्रविधिबाट स्वाब संकलन गरि परीक्षण गर्दा पोजेटिभ रिर्पोट आएको घटना सार्वजनिक भएपछि इटहरी उपमहानगरको पहलमा इटहरी अस्पतालले स्वाब संकलनको व्यवस्थापन गरि परीक्षणका लागि वीपी प्रतिष्ठान पठाउने योजना अनुसार स्वाब संकलन थालिएको उपमेयर गौतमले बताइन् ।
उनका अनुसार इटहरीको क्वारेन्टाइनमा हाल ७८ जना पुरुष र ३ जना महिला छन् । ती मध्ये ६० भारतीय नागरिक हुन् भने ७ पाकिस्तानी र १४ नेपाली नागरिक हुन् । जम्मा ८१ जना रहेको क्वारेन्टाइनमा सोमबार(आज) २० जनाको स्वाब संकलन गरि परीक्षणका लागि वीपी प्रतिष्ठान धरान पठाइएको उनले बताइन् । क्वारेन्टाइनमा रहेका सबैको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको उपमेयर गौतमले बताइन् ।