इलाम: इलामको फाकफोकथुम गाउँपालिकास्थित फाकफोक खोलामा बल्दाबल्दै गरेको शब बाढीले बगाएको छ ।

फाकफोकथुम–३ सल्लेरीका ४० वर्षीय रामबहादुर लकान्द्रीको दाहसंस्कारका लागि चितामा राखिएको शव बाढीले बगाएको हो । स्थानीय फाकफोक खोलामा शव जलाउन चितामा राखेर दागवत्ती दिनसाथ अचानक माथिबाट आएको बाढीले आगो छोडेको केही समयमा नि बगाएको थियो।

फाकफोक खोलाको शीर पाँचथरको घुर्बिसे पंचमी र आसपासमा भएको भीषण वर्षापछि आएको बाढीले शव बगाइएको गाउँपालिका अध्यक्ष राम कुमार श्रेष्ठले जानकारी दिए । उनले भने सो खोला वरीपरी पानी परेको थिएन एक्कासी बाढी आएर शब बगाउँदा सपना जस्तो लागेको छ ।
शव जल्न नपाइ बाढीले बगाएपछि खोजतलास गरी पुन दाहासंस्कार गरिने भएको छ । लकान्द्रीको आइतबार दिउँसो करिब १२ बजे नजिकैको जंगलमा सुँगुरको चारो खोज्ने क्रममा ढुङ्गाबाट चिप्लिएर लड्दा मृत्यु भएको थियो ।

त्यस्तै सोही बाढीले बगाएर एक बालकको मृत्यू भएको छ । मृत्यू हुनेमा फाकफोकथुम गाउँपालिका वडा नम्बर ३ आमचोक रातमाटेका १३ वर्षीय मनिस थेगिम रहेको छन् ।

साथीहरुसँग पौडी खेलिरहेका थेगिमलाई अचानक माथिबाट आएको बाढीले बगाएरको थियो । बाढिले बगाएको थाहा पाएका साथीहरुले स्थानीयलाई खबर गरेपछि स्थानीय र प्रहरीले खोजतलास गरेको थियो । खोजतलासका क्रममा थेगिमको शव घटना भएको स्थानदेखि करिब ३ किलोमिटर तल मृत अवस्थामा फेला परेको थियो ।

उनको पोष्टमार्टमका लागि पाँचथरको रवि अस्पताल लगिएको छ । मृत्यु भएका थेगिम सोही गाउँपालिकामा कार्यरत कर्मचारीका भतिज हुन् ।