सङ्खुवासभाः जिल्लाको खाँदबारी नगरपालिकाले बेलाबेलामा नगरको सरसफाइ गरिरहेकै छ । नगरका जनप्रतिनिधि, कर्मचारी र स्थानीयले नगरको सरसफाइ भनेर अभियान नै नचलाएका पनि होइनन् ।
खाँदबारी नगरपालिकाले प्रत्येक शुक्रबार नगरको सरसफाइ र बीच सडकमा राखिएका निर्माण सामग्री उठाउने भनेर मेयरले नै घोषणा गरेपछि १÷२ हप्ता त्यो अभियान पनि चलेकै हो । खाँदबारी नगरपालिका कार्यालयको बाहिरी आवरण जनप्रतिनिधि आएपछि फेरिएको छ । फेरिएको यो अर्थमा छ कि कार्यालयको वरीपरी फूल रोपेर चिटिक्क बनाइएको छ । यो पनि एउटा उपलब्धि नै हो । विभिन्न सङ्घसंस्थाले विभिन्न दिवस तथा उत्सवको अवसरमा पनि यही नगरको सरसफाइ भनेर भव्य रूपमा भेला भएर बजार क्षेत्रको फोहोर नटिपेका पनि होइनन् । अझ नगरभित्रको फोहोर उठाउन भन्दै नगरपालिकाले ट्याक्टर नै सञ्चालन पनि गरिरहेको छ ।
सरसफाइका यतिका धेरै गतिविधि हुँदाहुँदै पनि फोहोरको थुप्रो सडकको किनारमा थुप्रिन थालेको छ । खाँदबारी बजार र तुम्लिङटारबीचको सालघारी क्षेत्रको सडकको किनारमा ठाउँठाउँमा फोहोर फालिएपछि दुर्गन्धसमेत फैलिन थालेको छ । सडक किनारमा निर्माण सामग्री, होटलबाट निस्कने फोहोर, फर्निचर, पसलबाट निस्कने फोहोरहरू फालिएको पाइएको छ । फालिएको फोहोरको डङ्गुरभित्र सिसाको बोतल, प्लास्टिक, कार्टुन, लत्ताकपडाका टुक्रा, खेर गएका खाद्यपदार्थलगायतका वस्तुहरू छन् ।
जथाभावी फोहोर फाल्न थालिएपछि सालघारी सडकको सौन्दर्यसमेत हराउन थालेको छ । सडक किनारामा गाडीबाट फोहोर ल्याएर खन्याइएको भए पनि कसले त्यसरी फालेको हो भनेर अहिलेसम्म खोजी पनि गरिएको छैन ।
खाँदबारी नगरपालिकाले बजार क्षेत्रको फोहोर व्यवस्थापनको लागि छुट्टै ट्याक्टरको पनि व्यवस्था गरेको छ । फोहोर उठाइदिएबापत बजारवासीहरूबाट शुल्क पनि नगरपालिकाले उठाउँदै आएको छ । तर कतिपय बजारवासीहरूले शुल्क नतिरेका कारण ट्याक्टरले फोहोर उठाएको छैन । त्यसरी शुल्क नतिर्नेहरूले जथाभावी फोहोर फालेको हुन सक्ने पनि यदाकदा सुन्न पाइन्छ । नगरपालिकाले व्यवसायको प्रकृतिअनुसार २ सय रुपैयाँदेखि हजार रुपैयाँसम्म शुल्क लिँदै आएको छ ।
सडक नै कुरूप पार्ने गरी यत्रतत्र फोहोर फालिए पनि अहिलेसम्म खाँदबारी नगरपालिकाले भने यसबारे चासो दिएको छैन । अहिले फोहोर सडकको ठाउँठाउँमा फालिएको भए पनि कारवाहीको दायरामा ल्याएर व्यवस्थित गर्नुपर्ने खाँदबारी–१ का व्यवसायी कृष्णभगत प्रधानको भनाइ छ । खाँदबारी नगरपालिकाले अहिले नै नियमन गर्न नसके भोलि सबैले फोहोर लगेर फाल्ने सम्भावना रहेको उनले बताए ।
निर्माण सामग्री उठाउने विषय अभियानमै सीमित
खाँदबारी नगरपालिकाको बजार क्षेत्रभित्र यत्रतत्र फालिएका निर्माण सामग्री जफत गर्ने नगरपालिकाको अभियान अभियानमा नै सीमित भएको छ । खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले जुनसुकै सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दा सडकमा निर्माण सामग्री नराख्न आग्रह गरेका छन् ।
नगरपालिकाले अपिल नै जारी गरेर पटकपटक निर्माण सामग्री हटाउन र सडक नै छोपिने गरी राखिएका पसल हटाउन पनि बजारवासीलाई आग्रह गरेको थियो । मेयर आफैँ अपिल बाँड्दै हिँडेर स्थानीयलाई आग्रह पनि गरेका थिए । मेयर खतिवडा आफैँले बजार क्षेत्रमा यत्रतत्र राखिएका निर्माण सामग्री नउठाएका पनि होइनन् ।
तर केही समयदेखि नगरपालिकाले पुनः त्यसतर्फ चासो नदेखाउँदा बजार पुरानै अवस्थामा पुगेको छ । पसलेहरूले सडक नै ढाक्नेगरी सामग्री राख्नाले सवारी आवतजावतमा समस्या हुने गरेको छ । सवारी पार्किङको उचित व्यवस्था नहँुदा सडकमा यत्रतत्र सवारी साधन राख्ने बाध्यता स्थानीयलाई छ । मानिस शहरकेन्द्रित भएसँगै विभिन्न भौतिक संरचना थपिँदैछन् । तर, निर्माण सामग्री सडकमै राख्नाले सडक झनै साँघुरिएको हो ।
करिब १ वर्षअघि नै खाँदबारी नगरपालिकाले खाँदबारी बजारभित्र सवारी साधन पार्किङका लागि निश्चित स्थान तोकिदिए पनि तोकिएको स्थानमा सवारी पार्किङ गर्न चालकहरूले सकेका छैनन् । पार्किङको लागि तोकिएको ठाउँमा अहिले निर्माण सामग्री राखेको पाइएको छ । जसले गर्दा पार्किङ गर्न समस्या भइरहेको छ । पार्किङ गर्ने स्थानमा ढुङ्गा, गिटी,बालुवा रडजस्ता निर्माण सामग्रीहरू राखिएको छ ।
ती निर्माण सामग्री राखिएका पार्किङ स्थलमा कुनै पनि किसिमका सवारीसाधन पार्किङ गर्न मिल्दैन । ‘पार्किङ गर्ने ठाउँमा ढुङ्गा, गिटी र बालुवाले भरिएको छ, हामीले गाडी कहाँ राख्ने ?’ चालक धनबहादुर लामाले दुखेसो पोखे । धनबहादुरको जस्तै अरु चालकहरू पनि यो समस्याप्रति चिन्तित छन् । ‘सम्बन्धित निकायले चासो नदिँदा हामी अत्यतै असुरक्षित तरिकाले गाडी पार्किङ गर्न बाध्य छौं,’ अर्का चालक पदमप्रसाद राईले भने ।
खाँदबारी बजारको अस्पताल रोड, चाँदनी चोक, जिल्ला समन्वय समिति जाने बाटो, देवकोटा चोक र नेपाल टेलिकम जाने बाटोमा सबैभन्दा अव्यवस्थित ढङ्गले सवारी साधन पार्किङ हुँदा सडक जाम समेत हुने गरेको छ । साँघुरो सडकमा जताततै सवारी साधन राखिँदा सवारी चालकलाई मात्रै होइन बटुवालाई समेत समस्या हँुदै आएको छ ।
साँघुरो सडकमा जताततै सवारी साधन पार्किङ गरिँदा व्यापारीलाई समेत समस्या हुने गरेको छ । सदरमुकाम खाँदबारी मात्रै होइन जिल्लाका मुख्य बजारका सडकमा समेत ढुङ्गा, गिटी, बालुवा, रडजस्ता अन्य सामग्री राख्दा सडकसमेत बिग्रने गरेको छ ।