इटहरीः लकडाउनको मारमा परेका आफ्ना उपभोक्ताहरुलाई बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले न्युनतम् महसुलमा छुट दिने निर्णय गरेको छ । आज बसेको संस्थाको बैंठकले सो निर्णय गरेको हो । बैंठकपछि संस्थाले एक पत्रकार सम्मेलनको आयोजना गरि लक डाउनको मारमा परेका उपभोक्तालाई राहतस्वरुप संस्थाले एक महिनाको न्युनतम महसुल छुट दिने निर्णय गरेको जानकारी दिएको हो ।
संस्थाले २०७७ बैशाख महिनाको न्युनतम महसुल छुट दिने जनाएको छ । यस्तो छुट रकम करिब तीन लाख रुपैयाँ हुने संस्थाले संस्थाका अध्यक्ष महेन्द्र सुबेदीले बताए । विहीवार बेलबारीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘न्युन आय भएका उपभोक्ताको समस्यालाई यसले सम्वोधन गर्छ ।’
संस्थामा व्यक्तिगत तथा संस्थागत गरी एकहजार ६ सय ५० भन्दाबढी उपभोक्ता छन् । संस्थाले व्यक्तिगततर्फ न्युनतम शुल्क एक सय ५० रुपैयाँ र संस्थागत न्युनतम शुल्क तीन सय रुपैयाँ लिँदै आएको छ । न्युनतम् भन्दा माथि महसुल उठेको भए उपभोक्ताले तिर्नु पर्नेछ । यसअघि इटहरी खानेपानी उपभोक्ता संस्थाले पनि आफ्ना उपभोक्ताहरुलाई खानेपानी महसुलमा छुट दिने निर्णय गरेको थियो ।