इटहरीः पछिल्लो समय बालबालिकामा नोभेल कोरोना भाइरसको संक्रमण र नसा सुन्निने कावासाकी रोगको संक्रमणबीचको सम्बन्धबारे अनुसन्धान भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
युरोपस्थित डब्लुएचओका अधिकारीहरुले बिहीबारको ब्रिफिङका क्रममा कोभिड १९ को संक्रमणको जटिलता र कावासाकी रोगको सम्बन्धबारे अनुसन्धान भइरहेको बताएका हुन् ।
केही दिनयता कावासाकी रोगका केही बिरामीहरु लन्डन र युरोपका अन्य मुलुकमा देखिएका थिए । जसमध्ये केहीलाई मात्रै कोरोना भाइरसको संक्रमण भएको बताइएको छ ।
युरोपका लागि विश्व स्वास्थ्य संगठनका सल्लाहकार तथा ब्रिस्टोल विश्वविद्यालयका पिडियाट्रिक्स प्रोफेसर अडाम फिनले भने, “यो संक्रमणको पछिल्लो अवस्था हुनसक्छ । तर, यसको संक्रमणको अवस्था भर्खरै सुरु भएकाले कस्तो प्रकृतिको हो भन्ने यकिन गर्न सकिएको छैन ।’’ यससम्बन्धी अनुसन्धानहरु सुरु भइसकेको उनले जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनका युरोपियन संयोजक डा. डोरिट निट्जानले भने, “युरोपियन क्षेत्रमा कावासाकी रोगका बारेमा पिडियाट्रिसियन र अन्य क्लिनिकल नेटवर्कका साथ अध्ययन भइरहेको छ । अमेरिकामा देखिएका कोभिड १९ र यस बालबालिकाका नसा सुन्निने रोगको संक्रमण देखिएकाले त्यस विषयलाई साथमा राखेर यी दुई रोगको सम्बन्धबारे अनुसन्धान भइरहेको छ ।’’ उनले चाँडै यसको नतिजा सार्वजनिकसमेत बताएका छन् ।

के हो कावासाकी ?

बेलायती पेडियाट्रिक्सले यो बालबालिकामा हुने दुर्लभ संक्रमण भएको र कोरोना भाइरससँग सम्बन्धित हुनसक्ने बताएका छन् । बेलायतमा थोरै भए पनि यसको संक्रमणको अवस्था बढ्नेक्रममा रहेकोप्रति पनि चिकित्सकहरुले चेतावनी दिएका छन् ।
यो रोग बालबालिकामा हुने दुर्लभ रोग हो । यसलाई कावासाकी सिन्ड्रोम अर्थात् म्युकोस्युटियस लिम्फ नोड सिन्ड्रोमसमेत भन्ने गरिन्छ । यो रोगको संक्रमण भएमा शरीरका रक्तबाहिनी नलीहरु सुन्निने गर्छन् ।
यसको संक्रमण भएमा पनि कोरोना संक्रमणजस्तै ज्वरो आउँछ । शरीरमा बिबिरा अथवा दादजस्तो देखिन्छ । आँखा रातो हुने, ओठ, हत्केला र पैतलाहरु सुन्निन्छन् । यसको संक्रमण भएको पाँच दिनपछि घाँटी दुख्न थाल्छ भने तीन हप्तामा हात, खुट्टाको छाला निस्किने गर्छ ।
यो रोग के कारण हुन्छ भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यस रोगको उपचार बिरामीमा देखिएको लक्षणका आधारमा गरिँदै आएको छ । अहिलेसम्म यस रोगविरुद्धको औषधी र खोप पनि बन्न सकेको छैन । यो पाँच वर्षका बच्चाहरुमा अहिले देखिएको छ । हरेक एक लाख बच्चामा ८ देखि ६७ का बीचमा प्रभावित भएको र जापानमा एक लाखमा १२४ जना प्रभावित भएको बताइएको छ । यो रोगको संक्रमणबाट बालिकाभन्दा बढी बालक प्रभावित हुने गरेकोसमेत जनाइएको छ । सीएनएन