इटहरीः ज्वरो आएकै कारण विराटनगरका निजी अस्पतालहरुले भर्ना लिन नमानेका कारण आज एक बिरामीले उपचार नपाई ज्यान गुमाउनु परेको छ । यसरी ज्वरो आएका कारण भर्ना लिन नमानेका कारण प्रदेशको राजधानी विराटनगरका निजी अस्पताल दौडाउदा दौडाउदै मृत्यु हुने बिरामीको संख्या दुई पुगेको छ ।
बिहिबार ज्वरो आएकै कारण निजि अस्पतालहरुले भर्ना लिन नमान्दा सुनसरीको देवानगञ्ज १ का २७ बर्षीय रविन्द्र यादवले ज्यान गुमाउनु पर्यो । यसअघि धनकुटा महालक्ष्मी नगरपालिकाकी एक महिलाले पनि ज्वरो आएकै कारण अस्पतालले भर्ना लिन नमान्दा ज्यान गुमाउनु परेको थियो ।
ज्वरो आएकै कारण विरामीलाई भर्ना नलिएको र उनिहरुले समयमै उपचार नपाएर ज्यान गुमाउनु परेको तर्फ राष्ट्रिय मानवअधिकार आयोगले एक वक्तव्य प्रकाशन गरि विरामीको उपचार गर्न निजी अस्पताल र प्रदेश सरकारलाई गम्भिर बन्न ध्यानकर्षण गराउदै आग्रह गरेको थियो । आयोगको सो आग्रह कार्यन्वयन नभएकै कारण बिहिबार पुनः एक नागरिकले उचित उपचार नपाएर ज्यान गुमाउनु परेको हो ।
प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई र समाजिक विकास मन्त्री जीवन घिमिरे संचारमाध्यमलाई अन्तरर्वार्ता दिदै विरामी उपचार गर्न नमान्ने निजी अस्पतालहरुलाई कानूनको दायरामा ल्याएर कार्वाही गर्ने चेतावनी दिएपनि कोरोना संक्रमणपछि निजि अस्पतालहरुले ज्वरो आएकै कारण विरामी भर्ना नगरिरहेको बिषयमा अहिलेसम्म छानविन गर्न तर्फ नलाग्दा बिहिबार देवानगञ्जका यादवले उपचार नपाएरै ज्यान गुमाउनु परेको हो । यसअघि धनकुटा महालक्ष्मीकी एक महिलाको ज्यान जाँदा मुख्यमन्त्री राईले उपचार नपाएर ज्यान गुमाउनु परेको सुन्नमा आएकाले उपचारको व्यवस्था मिलाउन सबै निजी अस्पतालका संचालकरुलाई सामाजिक विकास मन्त्रालय मार्फत निर्देशन दिएको बताएका थिए । तर उनले निर्देशन दिए अनुसारको कार्यन्वयन भए नभएको अनुगमन गर्नका लागि सम्बन्धित मन्त्रालय तथा विभागलाई सचेत नगराउदा प्रदेशकै राजधानी रहेको विराटनगरका निजी अस्पतालहरुको फँटाईका कारण नागरिकले ज्यान गुमाईरहेका हुन् ।
खेतमा प्रयोग हुने किटनाशक औषधि हार्बिसाइड सेवन गरेका सुनसरीको देवानगञ्ज १ का २७ वर्षीय रविन्द्र यादवको समयमा उपचार हुन नसक्दा बिहीबार साँझ मृत्यु भएको हो ।
गत आइतबार विराटनगरको कोशी अस्पतामा भर्ना गरिएका उनलाई भेन्टिलेटर आवश्यक पर्ने भएपछि बुधबार बेलुका अन्यत्र रेफर गरिएको थियो । मिर्गौला र कलेजोमा समस्या देखिएपछि भेन्टिलेटर चाहिने भएकोले अन्यत्र रेफर गरेको कोशी अस्पतालले जनाएको छ ।
कोशीबाट रेफर भएपछि भेन्टिलेटर भएको अस्पताल खोज्दै बुधबार साँझदेखि बिहीबार अपरान्हसम्म आफन्तले विराटनगरका सबै निजी अस्पतालहरु चाहारेका थिए । तर, रविन्द्रलाई ज्वरो आएकोले विराटनगरस्थित कुनै पनि अस्पतालले भर्ना नगरेपछि अपरान्ह धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
बुधबार साँझ भेन्टिलेटरमा राख्नुपर्ने भएको भन्दै कोशीले रेफर गरेपछि आफन्तले विराटनगरस्थित नोबेल मेडिकल कलेज लगेका थिए । नोबेलले ज्वरो आएको कारण भर्ना नगरेपछि उनीहरू लाइफगार्ड अस्पताल पुगेका थिए । ज्वरो नापेर अस्पतालले गेटबाटै फर्काएपछि बाध्य भएर मध्यरातमा आफन्तले विरामीलाई घर लगेका थिए ।
रविन्द्रका बुबा जोगीलाल यादवका अनुसार विहीबार बिहान पुनः घरबाट एम्बुलेन्समा रविन्द्रलाई लिएर आफन्तले विराटनगरका सबै अस्पताल चाहारेका थिए । बिहान फेरि रविन्द्रको अवस्था खराब हुँदै गएपछि आफन्तले बिरामी लिएर न्यूरो अस्पताल पुगे । त्यसपछि ग्रिनक्रस अस्पताल लगियो, त्यहाँबाट गोल्डेन अस्पताल लगे । तर, सबैले ज्वरो नापे र गेटबाटै फर्काइदिएको बुबा जोगीलाले बताए ।
विराटनगरका कुनै पनि अस्पतालले भर्ना नलिएपछि दिउँसो १२ बजेतिर एम्बुलेन्स खोजेर परिवारले रवीन्द्रलाई धरान लगेको थियो । विराटनगरमा उपचार नपाएर एम्बुलेन्समा घुम्दाघुम्दै उनको मुखबाट रगत निस्कन थालेको बुबा जोगिलाले बताए ।
सुनसरी प्रहरीको संयोजनमा बीपी प्रतिष्ठानमा भर्ना गरिएका उनको उपचारको क्रममा साँझ ७ बजे निधन भएको हो । उपचारमा संलग्न वीपी प्रतिष्ठानका डाक्टरहरुले अस्पताल ल्याउन ढिलो भएकोले बचाउन नसकेको बताएको मृतकका बाबुजोगीलालले बताए । उनले छोराको सहि इलाज हुने आशमा विराटनगरका त्यती धेरै अस्पताल घुम्दाघुम्दा धेरै समय वितेको र अन्तीममा केही सिप नलागेपछि छोरा बचाउन धरान लगेको बताए । तर, ढिलो भएका कारण छोरालाई बचाउन नसकेको उनले बताए ।