इटहरीः लकडाउनका कारण रोजगार बिहिन भएका श्रमिक, अति विपन्न परिवारका सदस्यहरु र एकल महिलाहरुलाई महिला आधारशिला काठमाण्डौंले ५ दिनअघिबाट निःशुल्क खाना खुवाईरहेको छ । सुक्रबारसम्ममा त्यस्ता ४ हजार सदस्यहरुलाई खान खुवाइएको महिला आधारशिला काठमाण्डौंले जनाएको छ ।
लकडाउनका कारण धेरै श्रमिक, विपन्न परिवार, एकल महिलाहरुको घरमा चुल्हो बल्न छाडेको र खाना खानलाई समस्या भएको गुनासाहरु आएपछि महिला आधारशिलाको एकल पहल तथा लगानीमा निःशुल्क खाना खुवाईरहेको आधारशिलाकी केन्द्रिय अध्यक्ष रेणु शर्माले बताईन् ।
आधारशिलाको केन्द्रीय कार्यालय नजिक काठमाण्डौं महानगरपालिका वडा नम्बर ६ शान्तिपार्कमा टेन्ट लगाएरै उनिहरुलाई खाना खुवाउने काम भईरहेको छ । सुक्रबार मात्रै ७ सय ४० जनालाई खाना खुवाएको शर्माले बताइन् । यसमा स साना बालबालिकाहरुले खाना खाएको हिसाब नराखेको उनको भनाई छ । सामाजिक दुरीलाई समेत बिषेश ध्यान दिएर उनिहरुलाई खाना खुवाईरहेको आधारशिलाकी अध्यक्ष शर्माले बताइन् ।
आधारशिलाकी अध्यक्ष शर्माका अनुसार संस्थाले लामो समयदेखि सामाजिक तथा मानवीय कार्य गर्दै र महिला हिंसाका विरुद्ध लड्दै आएकाले यो महासंकटका बेला रोजगार बिहिन भएर दुई छाक खान नसक्ने भएका वर्गका परिवारका सदस्यहरुलाई निःशुल्क खाना खुवाइएको हो ।
पहिलो दिन ३ सय ५० लाई खुवाइएकोमा आज अर्थात सुक्रबारसम्म आइपुग्दा ७ सय ४० पुगेको उनले बताइन् । उनका अनुसार लकडाउन अवधिभर अर्थात बैशाख २५ गतेसम्म त्यस्ता वर्गका सदस्यहरुलाई बिहानको एक छाक खाना खुवाउइने छ । पछिल्लो समय घर तथा अन्य भौतिक संरचना निर्माणमा कार्यरत श्रीमकहरु प्नि खाना खान आउन थालेको उनले बताइन् । आफुहरुसंग भएको पैसा पनि सकिएको र ठेकेदारहरु पनि सम्पर्क विहिन भएको भन्दै आएपछि उनिहरुलाई पनि निःशुल्क खाना खुवाईरहेको आशारशिलाकी अध्यक्ष शर्माले बताइन् ।
महिला आधारशिलाको निःशुल्क खाना खुवाउने कार्यक्रममा स्थानीय बागमती रुद्रेश्वर युवा क्लबका युवाहरुले साथ दिएका छन् । त्यसैगरि फाइभ स्टार होटलमा काम गर्ने कुकहरुले आधारशिलाको खाना खुवाउने कार्यक्रममा स्व्यमसेवकका रुपमा आवश्यक सहयोग गरिरहेका छन् । तीनै कुकहरुले दैनिक खाना पकाएर खुवाईरहेको आधारशिलाकी अध्यक्ष शर्माले बताइन् । आधारशिलाको निःशुल्क खाना खुवाउने कार्यक्रमको सांसद छिरिङ लामा र काठमाण्डौं महानगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष दीपेन लामाले समेथत अवलोकन गरेका छन् । उनिहरुले आधारशिलाले कोरोनाको संक्रमण त्रास र लकडाउनका कारण आइपरेको संकटका बेला निःशुल्क खाना खुवाएर उत्कृष्ठ सामाजिक एव्म मानवीय कार्य गरेको भन्दै आधारशिलालाई धन्यवाद समेत दिएका छन् ।