इटहरीः बुधबार बिहान एक गर्भवती महिलालाई उदयपुर घर भएकै कारण अप्रेशन थिएटरबाट निकालेको घटना सेलाउन नपाउदै विराटनगरको नोबेल नोबेल मेडिकल कलेजले सुक्रबार पुनः उदयपुर घर भएकै कारण १६ बर्षीय किशोरलार्ई अप्रेशन थिएटरबाट निकालेको छ ।
नोबेल मेडिकल कलेजले शुक्रबार पनि उदयपुर त्रियुगा नगरपालिका– ६ घनचक्रेका १६ वर्षिय भीमबहादुर खत्रीलाई रेफर गरेको हो । नोबेलले यसअघि उदयपुरकी गर्भवती महिला सरस्वती रौनियारलाई पनि उदयपुर घर भएकै कारण अप्रेशन थिएटरबाटै निकालेर कोशी अञ्चल अस्पताल विराटनगर रेफर गरेको थियो । रेफर गरिएको कागजमै नोबेलले उदयपुर घर भएकै कारण भन्ने खुलाएको थियो ।
बिहीबार घास काट्ने क्रममा देब्रेहातको कुहिनो माथिको भाग भाँच्चिएका कारण आफन्तले भीमलाई नोबेल मेडिकल कलेज भर्ना गरेका थिए । चिकित्सकले शुक्रबार बिहान शल्यक्रिया गर्ने बताएका थिए । सबै प्रकृया पूरा भएपछि अप्रेशनका लागि ३२ हजार पनि जम्मा गरि अप्रेशन थिएटरमा लगेपछि उदयपुरको भन्दै डाक्टरहरुले बाहिर निकालिदिएको भीमका काका समशेरबहादुर खत्रीले बताए ।

95740478_299741037694957_1728737079807967232_n


शल्यक्रियाका लागि अस्पतालले स्टिल किन्न लगाएको थियो । तर बिहान अप्रेशन नगर्ने भन्दै चिकित्सक बाहिरिएपछि भतिजलाई लिएर समशेर कोशी अस्पताल आएका छन । कोशी अस्पतालले आइतबार शल्यक्रियाका लागि आउन भन्दै घर पठाएको छ । ‘अप्रेशनका लागि थिएटर भित्र लगेर घर उदयपुर हो भन्दै सोध्नुभयो ।’ भीमले भने ‘ हो भनेपछि खै कता फोन गरेर तिम्रो अप्रेशन हुदैन भन्नुभयो ।’
बाख्रालाई घास काट्ने क्रममा भीम पाखाबाट लडेका थिए । तर उपचार पाउने आशमा भर्ना भएका उनी हातमा पीडा लिएर बसिरहेका छन् ।
नोबेल मेडिकल कलेजले बुधबारमात्र उदयपुर गाइघाट घरभई प्रसूतिका लागि भर्ना भएकी महिला २९ वर्षिय महिला सरस्वती रौनियारलाई कोशी अस्पताल रेफर गरेको थियो । शुक्रबार पून उदयपुर घर भएकै विरामीलाई रेफर गरेको हो
भीमको नोबेल मेडिकल कलेजका डाक्टर प्रकाश सिटौलाको टोलीले शल्यक्रिया गर्ने तयारी थियो । तर विरामी कोरोनाको इपीसेन्टरबाट आएका कारण कोरोना परीक्षण पछि आउन भनिएको डाक्टर सिटौलाले बताए ।
‘सबैलाई आफ्नो ज्यानको माया हुन्छ ।’ उनले भने ‘ इपीसेन्टरबाट आएका कारण कोरोना परीक्षण गर्नुपर्छ ।’ उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा रहेका २८ जनालाई कोरोना संक्रमण देखिएको थियो । ती बिरामी कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका छन । तर कोरोना फैलिएको जिल्ला भन्दै उदयपुरका विरामीले विराटनगरका निजी अस्पतालमा उपचार पाउनै मुस्किल परेको छ । भारतमा दुईजना अर्काेपेडिक सजर्नको मृत्यु भएको बताउँदै डाक्टर सिटौलाले विरामी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेफर गरेका कारण आफूहरु उपचार गर्न डराएको उनले बताए ।