इटहरीः उदयपुर जिल्ला घरभएकै कारण गर्भवती महिलालाई अप्रेशन थिएटरबाट निकाल्ने विराटनगरको नोबेल मेडिकल कलेजलाई कडा भन्दा कडा कानूनी कार्वाही गर्न उदयपुरका जनप्रतिनिधिहरुले प्रदेश सरकार र संघीय सरकारसंग माग गरेका छन् ।
आइतवार बिहान पत्रकार सम्मेलन गरि उदयपुरबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सांसद बिमल कार्की, नारायण बुर्जामगर, त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले नोबेललाई कार्वाही गर्न माग गरेका हुन् ।
त्रियुगा नगरपालिका वडा नम्बर ११ कि २९ बर्षीया सरस्वती रौनियारलाई उदयपुर जिल्लाबाट आएकै कारण नोबेलले अपरेशन थिएरटरबाट निकालेको घटनाले अत्यन्त दुखित र आक्रोशित बनाएको पत्रकार सम्मेलनमा वितरण गरिएको संयुक्त प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उपचार पाउने नागरिकको मौलिक हकअधिकारलाई कुण्ठित गर्ने नोबेलमाथि तत्काल छानविन गरि कानूनी कार्वाह ीगर्न माग गरिएको छ । विज्ञप्तीमा कार्की, बुर्जामगर, चौधरी र नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले पनि हस्ताक्षर गरेका छन् ।
उदयपुरमा नोबेल अस्पतालको विज्ञापन हुने प्रर्वद्धनात्मक कार्यक्रमहरुको एक बर्षका लागि निषेध गर्न सम्पूर्ण स्थानीय सरकार , संघ संस्था र सम्बन्धित अन्य निकायहरुलाई आह्रावन गरिएको जारी प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नोबेलले उदयपुर जिल्ला भएकै कारण गर्भवती रौनियारलाई अप्रेशन थिएटरबाट निकालेको थियो । त्यसभोलि पल्टै सुक्रबार त्रियुगा ६ का १६ बर्षीय भीमबहादुर खत्रीलाई पनि अप्रेशन थिएटरबाट निकालेको थियो । उनि हाँत भाचिएर उपचारका लागि नोबेल भर्ना भएका थिए ।
नोबेलले उदयपुरबाटै निकालेपछि रौनियार खत्रीको अप्रेशन कोशी अञ्चल अस्पताल विराटनगरले गरिसकेको छ । रौनियारका पतिले न्यायको माग र नोबेलमाथि छानविन गरि कानूनी कार्वाहीको माग गर्दै सुक्रबार राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरमा उजुरी दर्ता गराएका छन् । उनले आज जिल्ला प्रशासन मोरङमा समेत उजुरी दर्ता गराएका छन् ।

bigyapti (1)
यता चिकित्सक संघले भने नोबेलले कोरोना संक्रमण फैलिएको क्षेत्रबाट आएका बिरामीहरुलाई कोरोना संक्रमण भए नभएको पीसीआर टेष्टका लागि कोशी अञ्चल अस्पताल रेफर गर्नु जायज भएको जिकिर गर्दै नेबेल लगायतका निजी अस्पतालहरुको बचाउ गरिसकेको छ । नोबेलले पनि आफुसंग कोरोना संक्रमण भए नभएको टेष्ट गर्ने आवश्यक सामाग्री नभएकाले बिरामीलाई टेष्टका लागि कोशी अञ्चल अस्पताल पठाएको दावी गरेको छ । उसले विश्वस्वास्थ्य संगठनको प्रोटोगल अनुसार अस्पतालले त्यसो नगरेको बताएको छ । यसअघि भने नोबेलका संचालक डा. सुनिल शर्माले आफुहरु कोरोना संक्रमणको समयमा पनि बिरामीको उपचार गर्न तयार रहेको र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सुरक्षाका लागि सबै खालका सुरक्षा सामाग्रीको व्यवस्थापन गरिसकेको भन्दै प्रचारबाजी गरेका थिए । उनले सरकारले आग्रह गरे कोरोना संक्रमितहरुको समेत उपचारका लागि अस्पातल दिन तयार रहेको वक्तव्यबाजी नै गरेका थिए । सरकारले पनि नोबेललाई कोरोना उपचार केन्द्रका रुपमा सूचिकृत समेत गरेको थियो ।