इटहरीः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किट नपठाउँदा कोशी अञ्चल अस्पतालमा संचालित कोरोना परीक्षण ल्याबको अटोमेटिक मेसिन बन्द भएको छ ।
अटोमेटिक मेसिनमा प्रयोग हुने रिएजेन्ट (आरएनए एक्ट्रयाक्सन किट) माग गर्दै कोशी अस्पतालले दुई पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेपनि नपठाएका कारण एक हप्ताअघिबाट सो मेसिन बन्द भएको हो ।
कोशी अञ्चल अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले मन्त्रालयले रिएजेन्ट किट नपठाएका कारण सामान्य रुपमा कोरोना परीक्षण गर्नुपर्ने बाध्यता रहेको बताइन् । मेसिनबाट एकै पटक ७२ वटा स्वाब परीक्षण गर्न सकिने भएपनि मन्त्रालयले रिएजेन्ट किट नपठाउँदा हाल समस्या भइरहेको मिश्राले बताइन् ।
हिजोबाट प्रदेश १ सरकारले कोरोना परीक्षणका लागि छुट्टै ल्याब थपेको छ । तर कोशी अस्पतालको ल्याब पूर्ण क्षमतामा सञ्चालन भएको छैन । सामान्य रुपमा परीक्षण गर्दा काम थोरै हुने र रिपोर्ट पनि ढिलो आउने मेसु मिश्राले जनाइन् ।
प्रदेश १ मा मात्र ३१ जना कोरोना संक्रमित छन् । संक्रमण देखिएको स्थानमा परीक्षणको दायरा बढाउनुपर्ने भए पनि रिएजेन्ट अभावमा संकलन भएका स्वाबको परीक्षण पनि ढिलो भएको मिश्राले बताइन् । कोशी अस्पतालले हालसम्म ६४१ जनाको स्वाब परीक्षण गरिसकेको उनले जनाइन् ।