इटहरीः प्रदेश १ को राजधानी रहेको जिल्ला मोरङ सहित ८ जिल्लालाई रेड जोनमा राख्ने प्रस्ताव गरिएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा सुरक्षा निकायले पेस गरेको रणनीतिक राय सुझावमा यस्तो प्रस्ताव समेटेको हो ।
वैशाख २५ गतेसम्मको लकडाउन सकिने मिति नजिकिएसँगै प्रदेश १ का यी जिल्लाहरूलाई रेड जोन अर्थात उच्च जोखिममा सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
सुरक्षा स्रोतका अनुसार रेड जोनमा पर्ने प्रदेश नम्बर १ का जिल्लाहरुमा सुनसरी, मोरङ, झापा, उदयपुर, इलाम, ताप्लेजुङ, तेह्रथुम र भोजपुर रहेका छन् । यी जिल्ला कोरोना संक्रमण हुन सक्ने भन्दै उच्च जोखिममा परेका छन् । यी जिल्ला बाहेक धनकुटा, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा एल्लो जोन अर्थात आंशिक जोखिममा राखिएको छ । हिमाली जिल्ला सोलुखुम्बुलाई ग्रीन जोन अर्थात न्यून जोखिममा राखिएको छ ।
रेड जोनमा परेका ८ जिल्लामा थप १५ दिनसम्म लकडाउन जारी गर्न उपयुक्त हुने उच्च स्तरीय समितिको सुझाव रहेको बुझिएको छ । समितिले रेड जोनमा परेका जिल्लाहरूमा तत्कालै आरडिटी भन्दा पीसीआर प्रविधिबाट कोरोनाको सङ्क्रमणको टेस्ट थाल्नु पर्ने राय पनि दिएको छ । सो प्रस्ताव मन्त्रि परिषद बैंठकमा पेश गरिने र सो बैंठकबाट निर्णय हुने बताइएको छ ।
उच्चस्तरीय समितिमा सुरक्षा निकायले पेस गरेको रणनीतिक राय सुझावमा रेड जोनमा परेका जिल्ला भित्र रहेका मुख्य सङ्क्रमित स्थानलाई हट स्पट तोकेर पूर्ण लकडाउन पालना गर्ने र त्यस्ता हट स्पटलाई पनि पूर्ण रूपमा सिलबन्दी गर्नुपर्ने उल्लेख छ ।
एल्लो जोनमा पर्ने जिल्लामा आंशिक लकडाउन जारी राख्ने तर रातो क्षेत्रमा पर्ने जिल्लाबाट ती जिल्लामा प्रवेश निषेध गर्नुपर्ने छ ।
त्यस्तै ग्रिन जोनमा लकडाउन खुकुलो पार्ने र सामाजिक दुरी कायम हुने गरी गतिविधि जारी राख्ने तर रातो र पहेँलो क्षेत्रबाट यस जिल्लामा प्रवेश निषेध गराउने विषयमा सरकार समक्ष छलफल हुनेछ । लकडाउनका विकल्प बारे सुरक्षा निकायले तयार पारेको प्रतिवेदन गृह मन्त्रालय मार्फत उच्चस्तरीय समितिमा पेस गरेको प्रतिवेदनमा प्रदेश १ को यस्तो सुझाव समेटिएको हो