इटहरीः नेपालमा कम उमेरका एक शिशुमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । पर्साको वीरगञ्जमा गरिएको कोरोना परीक्षणमा एक परिवारका २ महिनाको शिशुमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वीरगञ्जमा बुधबारमात्रै १७ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ । १७ मध्ये एकै परिवार, समुदाय र उनका नजिकका आफन्तहरुमा कोरोना पुष्टि भएको हो । यसअघि नेपालमा ७ बर्षका बालकलाई कोरोना पुष्टि भएको थियो । उनि नेपालगञ्ज नगरपालिका वडा नम्बर ८ का बासिन्दा हुन् । सो वडामा पनि संक्रमितहरु मध्ये एकै परिवार, समुदाय र उनीहरुका नजिकका आफन्तहरुमा कोरोना संक्रमण भएको थियो । सुरुमा एक स्थानीय ६० बर्षीय धर्मगुरुमा कोरोना संक्रमण भएको थियो । उनका नजिक भएकाहरुको स्वाब संकलन गरि परिक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती २४ मध्ये एक ७ बर्षीय बालक पनि थिए ।
संक्रमण देखिनेमा ७ जना महिला र १० जना पुरुष रहेकमा छन् भने दुई महिनादेखि ६६ वर्षको उमेरसम्मका छन् । यसअघि मंगलबार वीरगन्जका दुई जनामा पनि कोरोना पुनः पुष्टि भएको थियो । दुबैजनालाई वैशाख १४ गते अस्पतालबाट डिस्चार्ज गरिएको छ । हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । गत २४ घण्टामा कोरोना आशंकामा २ सय ४६ जनाको पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर परीक्षण करिब १४ हजार ९६ जनाको परीक्षण गरिएको उनले जानकारी दिए । आरडीटी परीक्षण ५२ हजार ९७० जनाको गरिएको उनले बताए ।
कोरोना भाइरसको आशंमा आज देशैभरका विभिन्न अस्पतालको आइसोलेनमा एक सय ३६ जना रहेका जसमा काठमाडौ उपत्यकामा ७ जना र काठमाडौ उपत्यका बाहिर एक सय २९ जना रहेका छन् । आज देशभरका क्वारेन्टाइन १९ हजार ७३४ जना रहेको मन्त्रालयले जनाएको छ ।