इटहरीः वैदेशिक रोजगारका शिलशिलामा बिभिन्न खाडी राष्ट्र«हरुमा रहेका धेरै नेपालीहरुमा कोरोना संक्रमण भई स्थानीय अस्पतालहरुमा उपचार गराईरहेका छन् । ती मध्ये केहीको मृत्यु पनि भईसकेको छ । कतिपय नेपालीहरु संक्रमण भएपछि क्वारेन्टाइनमा समेत बसेका छन् ।
खाडी राष्टहरुमा पनि लकडाउन भएकाले नेपालीहरु कार्यरत कम्पनीहरुले बस्न र खानाको व्यवस्था गरि कोठा कोठामै राख्ने काम पनि गरेको छ । रोजगारकै शिलशिलामा कतारमा रहेका धनकुटाको महालक्ष्मी नगरपालिकाका रामजी कटुवाल र भोजपुरका उमेश अधिकारीले आफूहरुलाई कोरोना लागेको बताउँदै निको भएपछि घर फर्कने वातावरण बनाइदिन सरकारसंग अनुरोध गरेका छन् ।
कतारको अलखोर हमाद हस्पिटलमा कार्यरत उनीहरुले आफूहरु क्वारेन्टाइनमा रहेको र सो क्वारेन्टाइनमा ४ सयभन्दा बढी संक्रमित रहेको कटुवालले जानकारी दिएका छन् ।
खान, बस्नको सुविधा भए पनि संक्रमण पुष्टि भएको ९ दिनसम्म पनि थप चेक नहुँदा भने आफ्नो थप स्वास्थ्य अवस्था थाहा हुन नसक्दा दुःख लागेको भोजपुरका अधिकारीले बताए ।
कतार सरकारले हालसम्म गरेको सहयोग र व्यवस्थापन राम्रो भए पनि कतारस्थित दूतावास तथा श्रमिकको हितमा खुलेका संगठन भने श्रमिकको समस्याको बारेमा बेखबर भएजस्तो देखिएको उनीहरु बताएका छन् ।