इटहरीः उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा देखिएका ३ कोरोना भाइरस संक्रमित मध्ये २ जना एकै घरका नातीनी हजुरआमा भएको खुल्न आएको छ ।
संक्रमित तीन मध्ये १८ वर्षिय बालिका र ६५ वर्षिय महिलाको सम्बन्ध हजुरआमा र नातिनीको हो । नातिनी जेठो छोराका छोरी हुन् । यसअघि संक्रमित एकै परिवारको पाँच जनाहरु पनि उनै परिवारका हुन् । सो परिवारमा संक्रमितको संख्या ७ जना पुगेको छ । यसअघिका संक्रमित पाँच जना मध्ये ६५ वर्षिय महिलाको छोरा र उर्दु पढ्न युपी गएको नातीनी छन् । छोरी र ज्वाईको साथै अर्का छोरीको छोरा पनि संक्रमित छन् । जसमा दुई नाति शुक्रबार मात्रै डिस्चार्ज भएका छन् ।
पहिले कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरुमा पुनः परीक्षण गर्दा पोजेटिभ आएको हो । शंका लागेपछि पुनः नमुना संकलन गरी परीक्षण गर्दा १८, ४५ र ६५ वर्षीया महिलामा पोजेटिभ देखिएको हो । यसअघि संकलन गरिएको थ्रोट स्वाबमा नेगेटिभ देखिएपनि पछिल्लो चरण ढिलो परीक्षण गरेका कारण भुल्केमा पुनः नमुना संकलन गरिएको थियो ।
अर्का संक्रमित ४५ वर्षिय महिला सप्तरी सुरुङ्गा नगरपालिका ११ अरहा भजोखाका एक संक्रमितका आमा हन् । उनको छोरा हिजोमात्रै कोशी कोरोना विषेश अस्पतालबाट डिस्चार्ज भएर विराटनगरको रानी मजरकको क्वारेन्टाइनमा रहेका छन् । उनीहरु चौदण्डीगढी नगरपालिका ९ ज्यामिरेमा विवाहमा आएपछि चैत्र १६ गतेबाट भुल्केमा छन् ।
३ सय ३४ जनाको पुनः स्वाब टेष्टमा तीन जनाको रिपोर्ट पोजिटिभ आएको छ भने करिव १०० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । १ सयबाट पनि संक्रमितको संख्या थपिन सक्ने आशंका स्वास्थ्यकर्मीहरुको छ । उदयपुरका संक्रमितको संख्या ३१ पुगेको छ भने १४ जना संक्रमणमुक्त भएर विराटनगरको क्वारेन्टाइनमा रहेका छन् ।