इटहरीः सप्तरीका कोरोना संक्रमित युवक प्रहरी र नगरपालिकाको सम्पर्कमा आइसकेका छन् । स्वाब संकलनपछि घर गएका उनलाई खोज्दै प्रहरी घर पुग्दा उनि घरमा नभएपछि सम्पर्क बाहिर भएको हल्ला फैलिएको थियो । तर उनी भने आफुलाई संक्रमण भएको जानकारी पाएपछि राजविराज स्थित सगरमाथा अञ्चल अस्पताल आउँदै गरेको अवस्थामा प्रहरी र नगरपालिकाको सम्पर्कमा आएका हुन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका १८ वर्षीय ती युवकको पुनः स्वाब लिएर परीक्षण गरि नगरपालिकाका मेयर शिवनारायण साहले बताए । उनका परिवारमा सबै सदस्यहरुको र उनको सम्पर्कमा रहेकाहरुको पनि स्वाब लिएर परीक्षणको तयारी भईरहेको मेयर साहले जनाए । प्रहरी एउटा र संक्रमित अर्को बाटोबाट आउज जाउ गरेका कारण उनि घरमा फेला नपरेको मेयर साहले बताए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा स्वाब परीक्षण गर्दा सोमवार ती युवामा संक्रमण पुष्टि भएको थियो । प्रमुख साहका अनुसार ती युवा चितवनमा काम गर्थे । लक डाउन भएपछि उनीसँगै करीब १५ देखि १७ जनाको समूहमा पैदल हिंडेर राजमार्ग हुँदै सप्तरी आएका थिए । उनी सप्तरी आएको २० दिन भएको थियो ।
नगर प्रमुख साहले थपे रिपोर्ट आउन समय लागेको कारण तीन दिनअघि ती व्यक्तिलाई क्वारेन्टाइनबाट घर फर्काइएको बताए । संक्रमित युवालाई सगरमाथा अञ्चल अस्पतालको आइसोलेशनमा राखेर उपचार गर्ने या अन्त रेफर गर्ने सल्लाह नभएको मेयर साहले बताए । संक्रमित युवामा कुनै खालको लक्षण देखा नपरेको र उनको अवस्था सामन्य रहेको मेयर साहले बताए ।