विराटचोकः पूर्वाञ्चल विश्वविद्यालयमा रहेको एउटा भवनमा प्रदेश १ सरकारले सोमबारदेखि १ सय ३५ जना राख्न मिल्ने इन्टरनेटसहितको क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गोठगाउँमा रहेको विश्वविद्यालयको सो क्वारेन्टाइनलाई नेपाली सेनाको मोरङमा रहेको सूर्यदल गणको (सेमो पल्स) टुकडीले सुरक्षा प्रदान गर्ने छ ।
उक्त टुकडीका प्रमुख मेजर सुष्पन कटुवालका अनुसार विश्वविद्यालयमा हाल कुनै पनि व्यक्ति नभएको बताएका छन् । यसभन्दा अघि यो क्वारेन्टाइन मिक्लाजुङको टाँडीमा रहेको थियो । त्यहाँ भएका सबै शंकास्पद व्यक्तिलाई आवश्यक परीक्षण गराई घर फिर्ता गरिएको छ ।
सुन्दरहरैंचा नगरपालिकाको सहयोगमा क्वारेन्टाइन रहेको भवनको चारैतर्फ हाइपोइन्ट निर्माण गरी २४ सै घन्टा सेनाले निगरानी गर्ने र भित्री सुरक्षाका लागि १४ वटा सीसी क्यामेराले मोनिटर गरिने व्यवस्था मिलाइएको छ । एउटा कोठामा २ जनाका दरले व्यक्तिगत दूरी कायम गरी शंकास्पद राखिने बताइएको छ ।
क्वारेन्टाइनमा रहेका व्यक्तिलाई दैनिक आवश्यक पर्ने सामानहरु ब्रस, पेष्ट, साबुन, झुललगायत सामग्री दिइने छ । क्वारेन्टाइनमा बस्न आउनेलाई खाजा र खाना गरी दैनिक ४ पटक दिइने र हप्तामा ४ पटक फलफूल खाने व्यवस्था मिलाइएको छ ।
खानाका लागि छुट्टै व्यवस्था गरिएको छैन । सेनाका लागि बनाइएको खाना नै दिने मेजर कटुवालले बताए ।
त्यहाँ चाहिने दैनिक रासनपानी दुई दिन अघि नै ढुवानी गरी १ दिन घाममा राखेर प्रयोग गर्ने गरिएको बताइएको छ । यसैगरी त्यहाँ हाइ स्पिडको इन्टरनेट जडान गरिएको छ । ९ वटा ब्लकमा छुट्टाछुट्टै राउटर राखी इन्टरनेट प्रयोग गरी परिवारसँग सम्पर्क बढाउनका लागि यो व्यवस्था गरिएको छ ।
क्वारेन्टाइन निर्माण हुनुभन्दा अघि यो भवनमा विश्वविद्यालयको महिला छात्रावास रहेको थियो । छात्रावासलाई स्थानान्तरण गरी प्रदेश सरकारले यस ठाउँमा लामो समयसम्म सञ्चालन गर्नेगरी क्वारेन्टाइन बनाइएको हो । टाँडीमा रहेको अस्थायी क्वारेन्टाइनमा केही दिन अघि आएको हावाहुरीले क्षति पुर्याएको थियो । यो क्वारेन्टाइन सञ्चालनका लागि सुन्दरहरैंचा नगरपालिका र विश्वविद्यालयले भरपुर सहयोग गरेको मेजर कटुवालले बताए ।