इटहरीः नेपाल थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केही बेर अघि स्वास्थ्य मन्त्रालयले एक प्रेस विज्ञप्ती प्रकाशित गरि नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमण हुनेको कुल संख्या २ सय १७ पुगेको छ । आज मात्रै नेपालमा ८३ जना संक्रमित थपिए । यत्तिका संख्यामा एकै दिन संक्रमण पुष्टि भएको घटना नेपालमा पहिलो हो । थप २६ संक्रमितहरुमा पर्सा, महोत्तरी, धनुषा, काठमाण्डौं, भक्तपुर र सर्लाही जिल्लाका रहेको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले बताए ।
थप संक्रमित हुनेमा २२ बर्षदेखि ६० बर्षसम्मका ६ जना महिलाहरु, १६ देखि ६० बर्षसम्मका १२ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको हो । त्यसैगरि धनुषाका २० बर्षीया महिला र ४० बर्षीय पुरुषमा संक्रमण देखिएको हो । भक्तपुर जिल्लामा २५ बर्षीया महिला र २७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालले जनाएको छ । त्यस्तै काठमाण्डौं जिल्ला निवासी ३३ बर्षीया महिला र ४५ बर्षीय सर्लाही निवासी पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको डा. अधिकारीद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । सबैको स्वाब जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरु स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । भोलि उनिहरुलाई कोरोना उपचारका लागि तोकिएका अस्पतालहरुमा भर्ना गरि उपचार थालिने छ । उनिहरुको संम्पर्कमा आउनेहरुको पनि स्वाब संकलन गरि परीक्षणलाई तिब्रता दिईने मन्त्रालयले जनाएको छ । पर्सा जिल्लामा संक्रमितको संख्या ह्वात्तै बढेपछि सो जिल्लामा कोरोना रोगथाम तथा शान्तिसुरक्षा मिलाउन सेना परिचालन गर्ने निर्णय पनि भएको छ । सो जिल्लामा समाचार संकलन गर्न फिल्डमा खटिने २ संचारकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसरी पत्रकारलाई संक्रमण भएको घटना नेपालमा पहिलो हो ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन कडा पार्न निर्देशन दिए लगत्तै आजै गृहमन्त्रालयले भोलिबाट एक जिल्लाबाट अर्को जिल्ला आवत जावतमा प्रतिवन्ध लगाएको छ । यसअघि जारी गरिएका अस्थायी सवारी पास पनि खारेज गरिएको मन्त्रालयले जनाएको छ ।